विराटनगर-  सरकारले सार्वजनिक सेवा प्रशारण सम्बन्धि कानुनलाई संसोधन र एकिकरण गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभामा सैद्धान्तिक छलफल गरेकोप्रति ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (वान) ले आफ्नोे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  सो विधेयकमा रहेका कतिपय प्रावधानहरु लोकतन्त्र र सार्वजनिकसेवा प्रशारण सम्बन्धि विश्वव्यापी मान्यता र सिद्धान्त विपरीत रहेको एसोसिएसनको ठहर छ ।

नेपाल टेलिभिजन र रेडियो नेपाल जस्ता संस्थाहरु स्वशासित र संगठित मात्र नभएर स्वायत्त समेत हुनुपर्दछ । तर विधेयकमा रहेको प्रावधानहरु सार्वजनिक सेवाप्रशारण सम्बन्धित मान्यता विपरित अस्पष्ट र अलोकतान्त्रिक  प्रवृतिका रहेको उल्लेख छ । देश भरि छरिएर रहेका सम्पुर्ण सञ्चार माध्यमहरुको विषयमा समेत विधेयकमौन रहेको छ ।

देशका ठुला ठुला परिर्वतनमा महत्वपुर्ण भूमिका खेलेका नेपालका स्वतन्त्र रेडियोहरुको बारे कुनै ठोस कुरा उल्लेख नभएको विधेयक सर्वस्वीकार्य  हुन नसक्ने महासचिव दुर्गा अधिकारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विधेयकमा सम्पुर्ण सञ्चार माध्यमलाई समेटेर उनीहरुको योगदानलाई समेत कदर गर्ने गरि संसोधन गर्न सरोकारवालाहरुसँग छलफल गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।