विराटनगर - नेपाली काङ्ग्रेसको महाधिवेशन आगामीे मंसिरमा हुने भएको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । आगामी भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्काे महाधिवेशन मिति तोकेको हो ।

केन्द्रीय समिति बैठकको निर्णय अनुसार अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका रहेको छ । वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।

क्रियाशील सदस्यतामा देखिएको विवादका कारण भदौको महाधिवेशन कार्यतालिका प्रभावित भएपछि अर्काे मिति कहिले तोक्ने भन्नेमा कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेलबीच लामो विवाद भएको थियो । पार्टी विधान र संविधानअनुसार महाधिवेशन गर्नुपर्ने समय भने कांग्रेसले गुजारिसकेको छ ।