विराटनगर-  विराटनगरमा गाडीबाट हामफाल्दा बिहिबार राति एक जना यात्रुको ज्यान गएको छ । कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ मा गुडिरहेको गाडीबाट हामफालेर झर्न खोज्दा भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ का २२ वर्षीय युवराज खतिवडाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २ च २७४२ नम्बरको बलेरो गाडीमा खतिवडा सवार रहेको पाइएको छ । प्रहरीका अनुसार हामफालेर ओर्लने क्रममा खतिवडा गम्भीर घाइते हुनु भएको थियो ।

खतिवडाको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा राति ८ः२० बजेतिर मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । प्रहरीले गाडी र चालक भोजपुरको पौवादुम्बा गाउँपालिका–२ का २५ वर्षीय कृष्ण कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । लापरबाहीपूर्ण तरिकाले गाडीबाट झर्ने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ ।