विराटनगर - विधि सम्मत ढंगले तोकिएकै समयमा महाधिवेशन गर्न र फर्जी क्रियाशील सदस्य खारेजीको माग गर्दे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अघिल्तिर युवा कांग्रेस नेता विद्यार्थीले प्रदर्शन गरेका छन् ।

युवाको नेतृत्व १ नम्बर प्रदेश प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्की थिए । बुढानिलकण्ठमा प्रधानमन्त्री तथा कांग्रेस सभापपित देउवा निवास अगाडि प्लेकार्ड प्रदर्शन गर्दै प्रदर्शन भएको हो । प्रमुख सचेतक कार्कीले भने,“समयमै महाधिवेशन गर्न र पार्टीलाई अनिर्णयको बन्दी नबनाउन माग गर्दै हामीले लोकतान्त्रिक पार्टीलाई बचाउन भनेका हौं ।”

कार्कीले पार्टीलाई विभिन्न माध्यमबाट पटक पटक महाधिवेशन वैधानिक तवरले गर्न माग हुँदै आएको सुनाए ।कांग्रेसलाई संवैधानिक संकटबाट जोगाउन समयमै महाधिवेशन गराउनुपर्ने, विधान मिच्न नपाइने, संविधान मिच्न नपाइने नारा लेखिएका प्लेकार्ड युवा नेता तथा विद्यार्थीले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले फर्जी क्रियाशील सदस्यता खारेजीको माग गरेका छन् ।