इनरुवा-प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षा कायम गर्नका लागि नागरिकको भूमिका महत्वपूर्ण रहेको बताएका छन । 


सुनसरी सदरमुकाम इनरुवामा बिहिबार जिल्ला प्रहरी कार्यालय सुनसरीको नवनिर्मित भवन उदघाटन कार्यक्रमलाई  सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताएका हुन । 


नागरिकको सहयोग विना प्रहरी एक्लैले केही गर्न नसक्ने भन्दै सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।  सुरक्षा अभियान प्रहरी र जनताको सहकार्यको परिणाम भएको भन्दै सुरक्षा संवेदनशीलता प्रति सबै नागरिक गम्भिर भएको खण्डमा कार्य सम्पादन गर्नका लागि नेपाल प्रहरीलाई सहज हुने प्रहरी महानिरीक्षक क्षेत्रीले बताए । 


प्रहरी महानिरीक्षक एक्लैले केही गर्न नसक्ने भन्दै विधिको कार्यान्वयन र शान्ति सुरक्षाको काम संगठनमा आवद्ध सम्पूणर् प्रहरीको सक्रिय योगदानबाट मात्र सम्भव हुने धारणा व्यक्त गरे । क्षेत्रीले उद्घाटन पछि जिल्ला प्रहरी कार्यालयको भवनको निरिक्षण गरेका थिए । 


९ करोड ३६ लाख ६७ हजार १ सय २० रुपैंयामा कार्यालय सहित हिरासत, ब्यारेक, नागरिक सहायता कक्ष लगायतका संरचना निर्माण गरिएको सुनसरीका प्रहरी उपरीक्षक संजयसिंह थापाले बताए ।  कार्यक्रममा भवन तथा संरचना निर्माणमा सहयोग पुर्याउने स्थानीय तहका प्रमुख लगायतलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा इनरुवा नगरपालिका प्रमुख राजन मेहता, कोशी गाउँपालिका प्रमुख ऐयुब अन्सारी, हरिनगरका प्रमुख गफार अन्सारी र बर्जु गाउँपालिका प्रमुख रघुनन्दन चौधरीलाई सम्मान गरिएको थियो ।


त्यसैगरी एसपी कमल थापा, डीएसपी नरेन्द्रकुमार कार्की, प्रहरी निरीक्षक जयदेव माझी सहित अधिकारकर्मी सरिता कार्की घिमिरे, समाजसेवी रोहित निरौला र पुरुषोत्तम भण्डारी, संचारकर्मी अमर काफ्ले र भवन तथा अन्य संरचना निर्माणमा संलग्न निर्माण व्यवसायीलाई समेत सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।