इनरुवा-सुनसरीको कोशी गाउँपालिका ४ मा बिहिबार जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षिय रामेखङ्ग खत्वे रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । बिहान उठेर शौचालय गर्नका लागि गएको बेलामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गरेको थियो ।


जङगली हात्तीको आक्रमणबाट खत्वेको घटना स्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।  शव परिक्षणका लागि जिल्ला अस्पताल इनरूवा ल्याइएको सुनसरी प्रहरीले जनाएको छ । पछिल्लो समय आरक्ष आसपास क्षेत्रमा हात्तिको दैनिक रुपमा आतंक बढ्दै गएको छ । आरक्षबाट राति तथा दिउँसोको समयमा निस्कने जङगली हात्तीले दैनिक रुपमा आतंक मचाउदै आएको छ ।


दैनिक रुपमा निस्कने हात्तीले स्थानीय समुदायले लगाएको बाली नालि नष्ट गर्नुका साथै घर टहरा समेत नष्ट गर्ने गरेको कोशी गाउँपालिकाका अध्यक्ष अयुव अंसारीले बताए । 


आरक्ष आसपास क्षेत्रमा हात्ती आंतक नियन्त्रण गर्नका लागि पटक-पटक स्थानीयवासीले माग तथा बिभिन्न किसिमको आन्दोलनको कार्यक्रम गरेको भएपनि अहिले सम्ममा सम्बन्धीत निकायले यसलाई नियन्त्रण गर्न तर्फ ध्यान नदिएको जङगली जनावर पीडित संघर्ष समितिका अध्यक्ष पञ्चनारायण मण्डलले बताए ।