विराटनगर- जीवितै हुँदा मृत्यु दर्ता र काजकिरिया गरिसकिएका मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका ४० वर्षीय सुभाष तामाङले बल्ल नेपाली नागरिकताको प्रतिलिपी प्राप्त गरे । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जीवितै रहेका सुभाषको मृत्यु दर्ता खारेज गर्दै उनलाई बिहिबार नागरिकताको प्रतिलिपी प्रदान गरे ।
वैदेशिक रोजगारीका क्रममा साउदीमा रहँदा सुभाषको २०७२ साल असार २५ गते दुर्घटनामा परेर उतै मृत्यु भएको खबर परिवारलाई प्राप्त भएको थियो । त्यसको २८ दिनमा शव पनि नेपाल आइपुगेपछि परिवारले धार्मिक संस्कार अनुसार अन्त्येष्टि गर्दै सम्बन्धित निकायमा सुभाषको मृत्यु दर्ता पनि गराए । तर उनीँ कार्यरत कम्पनीको लापरबाहीका कारण सुभाषको भनेर दाहसंस्कार गरिएको शव भने बागलुङको ढोरपाटन–६ का तेजेन्द्र भण्डारीको परेको पुष्टि भयो । दुर्घटनाबाट गम्भीर घाइते भएका सुभाष उपचार सफल भएसँगै २०७३ सालमा नेपाल फर्किए । सुभाषकै भनेर शवको दाहसंस्कार गर्दै काजकिरिया भइरहँदा दुर्घटनामा गम्भीर घाइते उनको भने साउदीमै उपचार भइरहेको थियो
। उनले आफ्नै मृत्यु दर्ता खारेजी र नागरिकताको प्रतिलिपीका लागि चार वर्षसम्म सरकारी निकायमा धाउनु पर्यो । तर मृतकको सूचिमा परेपछि सरकारी अभिलेखबाट नाम हट्न नसक्दा धेरै समस्या बेहोर्न बाध्य हुनु परेको गुनासो उनको छ । भोजपुरको (साविक कुदाककाउले गाविस–९) हालको षडानन्द नगरपालिका –२ पुरानो ठेगानाका सुभाष भोजपुरबाटै २०६० जेठ २९ गते ४८४१–११–२५५४ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेर वैदेशिक रोजगारीका लागि साउदी गएकाथिए ।
सुभाषको मृत्यु दर्ता २०७२ साउन ६ गते भोजपुरमै गरिएको हो । आफू जीवित रहेको सरकारी प्रमाणसहित नेपाली नागरिकता प्राप्त गरेपछि उनँले पुनः विदेश जाने सोच बनाएको बताए । पञ्जीकरण ऐनको दफा २४ अनुसार सुभाषको मृत्यु दर्ता बदरको आदेश जारी गर्दै उनलाई प्रतिलिपी प्रदान गरिएको जानकारी प्रमुख जिल्ला अधिकारी कोसहरी निरौलाले दिए।

