विराटनगर- प्रदेश १ का विभिन्न संरक्षण गृहहरुमा आश्रितहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुलाई आज देखि जोनसन एण्ड जोनसन खोप लगाउन शुरु गरिएको हो । अभियानको सामाजिक विकास मन्त्री उषाकला राईले बिहिबार शुभारम्भ गरीन। सडक आश्रित तथा सहयोगापेक्षीहरुलाई उद्धार गरि राखिएको विराटनगर १० को मानव सेवा आश्रमबाट अभियानको शुरुवात गरिएको हो ।
खोप अभियान शुरुवात गर्दै सामाजिक विकास मन्त्री राईले सडक आश्रित तथा सहयोगापेक्षीहरु सम्पूर्णलाई कोभिड १९ विरुद्धको खोप लगाईने बताइन । मानव आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुको सवैलाई खोप लगाईने उनले बताईन । मन्त्री राईले भनिन,‘ अपाङ्गता भएका तथा अशक्त सवैलाई अभियानमा समेटिने छ ।’
लक्षित समूहले खोप लगाईरहेपनि संरक्षण गृहमा आश्रितहरुले खोप लगाउन नपाएको थाहा भएलगत्तै अभियान शुरुवात गरिएको मन्त्री राईको भनाई थियो ।सामाजिक विकास मन्त्रालय सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले मानव सेवा आश्रम तथा संरक्षण गृहमा आश्रित सवैलाई खोप लगाईने बताईन ।
उनँले बिहिबार ३ सय बढीलाई खोप लगाइएकोे बताईन । मानव सेवा आश्रममा, प्रदेश सरकारद्धारा सञ्चालित दीर्घकालिन पुर्नस्थापना गृह, ओरेक, माईती नेपाल र एवीसीको संरक्षणमा रहेकाहरुलाई बिहिबार खोप लगाई सकिने उनले बताईन ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कमल भट्टराई, स्वास्थ्य कार्यालय मोरङका प्रमुख सुरेश मेहता, विराटनगर १० का वडाध्यक्ष माधवराज वाग्ले लगायतको सहभागिता रहेको थियो ।

