विराटनगर- विराटनगर विमानस्थलको होल्ड ब्यागेज एक्स–रे मेसिन बिग्रिएपछि यात्रुका सामान चेकजाँचमा समस्या भइरहेको छ । मेसिन डेढ महिनाअघि बिग्रिएर थन्किएको हो । मेसिनले काम नगर्दा प्रहरीले यात्रुका झोला, लगेज र पोकाभित्र राखिएका सामान हातैले चेकजाँच गर्नु पर्दा सुरक्षाकर्मीले समस्या झेलिरहेका छन् ।
यात्रुले पनि धेरै बेरसम्म लाइनमा बसेर पालो पर्खिदै सामान चेकजाँच गराउनुपर्ने बाध्यता छ । लाइनमा बसेका यात्रुका सामान हातैले खोतलेर चेकजाँच गर्नु पर्दा प्रहरी कोरोना संक्रमणको उच्च जोखिममा परिरहेका छन् । ‘मेसिनले काम गर्न छाडेपछि दुःखका साथ प्रहरीले सयौं यात्रुको सामान हातैले चेकजाँच गरिरहेका छन्,’ विमानस्थलका एक कर्मचारीले भने, ‘सामान चेकजाँचमा धेरै बेर लाग्ने भएकाले यात्रुले पनि धेरै सास्ती भोगिरहेका छन् ।
’ उनका अनुसार मेसिनबाट तत्कालै पत्ता लाग्ने हुँदा विमानस्थलबाट अवैध सामान ओसारपसारको सम्भावना थिएन । तर हातैका भरमा गर्नुपर्दा सुरक्षा चेकजाँच पनि प्रभावकारी हुन सकिरहेको छैन । हवाई सुरक्षामा चुनौती थपिएको छ । सुरक्षाका दृष्टिकोणले हवाईयात्रा अत्यन्तै संवेदनशील मानिन्छ । घरबाट मिलाएर ल्याएको सामान विमानस्थलमा सुरक्षाकर्मीले चेकजाँच गर्दा खोतलखातल हुने भएकाले समस्या भइरहेको गुनासो यात्रुको छ ।
विराटनगर विमानस्थलबाट सौर्य, बुद्ध, यति र श्री एयरलाइन्सका जहाजले एक दिनमा १८ वटासम्म उडान भर्ने गरेका छन् । दैनिक एक हजार जनासम्मले यात्रा गरिरहेका हुन्छन् । बिग्रिएको पुरानो मेसिन मर्मतसम्भर गर्नसक्ने अवस्था नभएपछि विमानस्थलले काठमाडौंबाट नयाँ मेसिन ल्याएको छ ।
विमानस्थल प्रमुख उत्सवराज खरेलले काठमाडौंबाट ल्याइएको मेसिन केही दिनभित्रमै संचालनमा ल्याइसकिने बताए । उनका अनुसार पुरानो मेसिन बिग्रदा सुरक्षा चुनौती थपिनुका साथै यात्रु, सुरक्षाकर्मी र विमानस्थल प्रशासनलाई समेत कठिनाइ भइरहेको छ ।

