विराटनगर- नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले नेकपा एमालेका कारण प्रदेशको नामाकरणमा ढिलाइ भएको बताए । प्रदेश १ प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक कार्कीले नामाकरणका लागि छलफल गरौं भनि प्रस्ताव गर्दा आफ्नो दलभित्र छलफल गर्छाैं भन्ने एमालेलेअरु दललाई दोष दिन नमिल्ने उनको भनाई छ । ‘

हामीले नामाकरणको प्रकृया बढाऔं भन्यौं तर, दलभित्र छलफल गर्छाैं भनेर एमालेका साथीहरुले भन्नुभयो,’ प्रमुख सचेतक कार्कीले भने ‘हिजो मुख्यमन्त्रीले दलहरुले समय मागेका कारण ढिलाइ भयो भन्ने प्रतिकृया दिनुभएछ, यो झुट कुरा हो ।’

प्रमुख सचेतक कार्कीले व्यङ्ग्य गर्दै भने ‘पहिले बिहे र नामाकरण सँगै भन्नुहुन्थ्यो अब प्रदेशको नामाकरण र न्वारान सँगै गर्ने हो भनेर जनताले प्रश्न गर्न थालेका छन् ।’ उनले नामाकरणको सम्बन्धमा सभामुखले कार्यविधि बनाएर छलफलका लागि प्रस्ताव गर्न सक्ने भएकोले भोलि नै प्रस्ताव बढाउन आग्रह गरे ।