विराटनगर- कोरोना महामारीका बेला विराटनगरको कोसी अस्पतालमा मनपरी ढंगले जोखिम भत्ता वितरण भइरहेको पाइएको छ । अस्पताल प्रशासनको मनोमानीका कारण कोरोना संक्रमणको समेत प्रवाह नगरिकन जोखिमपूर्ण तवरले काम गरिरहेका तल्ला स्तरका कर्मचारी भने जोखिम भत्ता पाउनबाट बञ्चित भइरहेका छन् ।

तर कोभिडको व्यवस्थापनमा खटिएको नाममा अस्पतालका पहुँचवाला सबै प्रशासनीक कर्मचारीले भने भत्ता लिइरहेको खुलेको छ । जोखिम मोलेर बिरामीको सेवामा अहोरात्र खटिने कर्मचारीलाई भने बेवास्ता गरिएको छ । अस्पतालको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिममा खट्ने चिकित्सक एवं कर्मचारीलाई तलबको ५० प्रतिशत मासिक भत्ता उपलब्ध गराउने गरेको छ । तर अस्पताल प्रशासनले आसेपासे र पहुुँचवाला एवं प्रशासनीक कर्मचारीका लागि मात्रै भत्ताका लागि मन्त्रालयमा सिफारिस गर्दा सयौँ बिरामीको भीडभाडभित्र जोखिमपूर्ण अवस्थामा काम गरिरहेका कर्मचारी भने ठूलो विभेदमा परेका छन् । कोसीमा ६२ बेडको कोभिड अस्पताल सञ्चालनमा छ । भीडभाड व्यवस्थापन, कोरोना संक्रमितदेखि लिएर अरु बिरामीको सेवामा खटिने क्रममा संक्रमित भएका कर्मचारीलाई भने भत्तामा भेदभाव भएको स्रोतले बतायो ।

त्यस्तै बिरामीको अत्याधिक भीडभाड हुने ओपिडी (बहिरंग विभाग), आकस्मिक कक्ष, बिलिङ काउण्टर, टिकट काउण्टर, कोरोना शंकास्पदको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने फिवर क्लिनिकमा खटिने कर्मचारी एवं कार्यालय सहयोगी, स्वीपर (सरसफाईकर्मी) लगायतलाई भने भत्ताविहीन बनाइएको छ । भत्ताबाट नियतवस बञ्चित गराइएको भन्दै कर्मचारीहरुले भने अस्पतालको काम र बिरामीको सेवा छाडेर कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । अस्पतालमा नेपाल सरकार र अस्पताल विकास समितिको सहित चिकित्सक, नर्सिङ, प्रशासनीक एवं प्रयोगशालाका कर्मचारी, प्राविधिक, सुरक्षागार्ड, श्रेणीविहीन गरी पाँच सय १६ जनाको दरबन्दी छ । चार सय ५० जनाजति कार्यरत छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास, नर्सिङ कर्मचारी परिचालनको जिम्मेवारीमा रहने मेट्रोन एवं अस्तालकी सूचना अधिकारी मञ्जु यादव, नायब सुब्बा हरि सुवेदीलगायतका सबै प्रशासनीक कर्मचारीले जेठ र असार महिनाकै भत्ता बुझिसकेकाछन । अस्पतालको सिफारिसमा मन्त्रालयले जेठमा एक सय ९८ र असारमा एक सय ७४ जनालाई भत्ता उपलब्ध गराएको छ । आकस्मिक र ओपीडी काउण्टरमा कार्यरत ११ जनामध्ये एक जनाले भत्ता पाए पनि १० जनालाई वास्ता गरिएन ।

त्यहाँ कार्यरत सात जनालाई काममै खटिने क्रममा कोरोना संक्रमण भइसकेको छ । ठूलो संख्यामा रहेका सरसफाईकर्मी भत्ताविहीन बनाइएपछि त्यत्तिकै जोखिम मोलेर काम गर्न बाध्य छन् । अस्पताल स्रोतका अनुसार व्यवस्थापनमा खटिएका, बीमा, फार्मेसी र काउण्टरमा काम गर्नेहरुले भत्ता नपाएको गुनासोसहित निवेदन दिएका छन् । अस्पतालकी मेट्रोन एवं सूचना अधिकारी यादवले कोभिड अस्पतालमा कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा खटिनेले मात्रै भत्ता पाएको बताए । मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार मात्रै कर्मचारीहरुलाई भत्ता दिलाउन सकिने उनको भनाइ छ ।

यादवले स्वास्थ्यमा कोरोना संक्रमितदेखि विभिन्न समस्या भएका धेरै बिरामी उपचारका लागि आउने भएकाले अस्पतालभित्रका सबै कर्मचारी जोखिममा भने रहेको बताईन। कोसी अस्पताल विराटनगरमा दैनिक उपचार र स्वास्थ्य परीक्षणका लागि एक हजारभन्दा बढी बिरामी आउने गरेका छन् । एक दिनमा सय जनाभन्दा बढी कोरोनाका शंकास्पदको पीसीआरआर परीक्षण हुँदै आएको छ ।