विराटनगर- मोरङको लेटाङ नगरपालिका–९ बुढौली चोकबाट प्रतिबन्धित औषधिसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले लेटाङ–८ का २४ वर्षीय पदमबहादुर राईलाई सोमबार साँझ पक्राउ गरेको हो ।
राईको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल दुई सय ट्याब्लेट र स्पासपेन एक सय ७० ट्याब्लेट बरामद भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । राईमाथि प्रहरीले थप अनुसन्धान थालिएको जनाएको छ । प्रहरीलाई प्राप्त सूचना र अनुसन्धानबाट खुलेको विवरणका आधारमा प्रतिबन्धित औषधिको ओसारपसार र कारोबार गर्ने गिरोहको खोजी थालिएको राईले बताए ।
यसैबिच सुनसरीको ईनरुवा नगरपालिका ४ पुर्व–पश्चिम राजमार्गमा पर्ने ईनरुवा बसपार्कबाट कारमा सवार ४ जनालाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी १४ का २० बर्षीय अमोद कुमार यादव, सप्तरी तिलाठी कोईलाडी ४ का २० बर्षीय ईनर कुमार मुखिया, सप्तरी रामपुर मलहनिया १४ का २४ बर्षीय बिनोद कुमार कामत, सप्तरी तिलाठी कोईलाडी ४ का १९ बर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोईलाडी ४ का २२ बर्षीय फुल कुमार मुखिया रहेका छन् ।

