विराटनगर-  प्रदेश १ मा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि बिरामीको उपचार गराउन आईसीयूको अभाव हुन थालेको छ । पछिल्लो समय प्रदेश १ मा संक्रमण अनियन्त्रित बन्दै जाँदा गम्भीर लक्षण भएका संक्रमित पनि बढ्न थालेका छन् ।

गम्भीर एवं जटिल लक्षण भएका संक्रमितको संख्या बढ्न थालेपछि उपचार गराउन सरकारी एवं निजी अस्पतालहरुमा आईसीयू बेडको अभाव हुन थालेको हो । प्रदेश १ मा एक दिनमा सात सयदेखि एक हजार दुईभन्दा बढी संक्रमित थपिँदैछन् । अस्पतालहरुमा गम्भीर बिरामीको चाप बढ्न थालेको छ । अक्सिजनको सहारामा आईसीयूको पालो पर्खिएर बस्ने संक्रमितको संख्या बढ्दै गएको अस्पतालहरुले जनाएका छन् ।

मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालका कोभिड इन्चार्ज सुनील देवले आईसीयू अभावमा गम्भीर समस्या भएका संक्रमितलाई उपचारका लागि भर्ना गर्न नसकिएको बताए । संक्रमणको पछिल्लो अवस्थाले दोस्रो लहरको झल्को दिन थालेसँगै उपचारका लागि आउने स्वास्थ्य अवस्था खराब भएका बिरामीको संख्या बढेको उनको भनाइ छ । जनस्वास्थ्य विज्ञ डा. नवराज सुब्बाले बढ्दो नागरिक बेवास्ता, कमजोर नियन्त्रण कार्यशैली, जनस्वास्थ्य मापदण्डको उल्लंघन र अत्याधिक चहलपहल संक्रमण बढ्नुको मुख्य कारण भएको बताए ।

दोस्रो भेरियन्ट उत्कर्षको झल्को आउँदा तेस्रो भेरियन्टको संकेत मिलिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार सरकारले निषेधाज्ञा हटाउँदै गर्दा रोगको प्रकोप हटेको थिएन । तर निषेधाज्ञा हटेपछि मास्क नलगाउने, सरसफाईमा ध्यान नदिने, सामाजिक दूरीको पालना नगर्ने, भेला, बैठक, सभा, जुलुस, भीडभाड गर्नेजस्ता गतिविधीले संक्रमण ह्वात्तै बढाएको सुब्बाको विश्लेषण छ । अझै संक्रमण बढेर ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै उनले जनस्वास्थ्यको मापदण्ड पालना र सावधानीमा कुनै कन्जुस्याइँ नगर्न सबैमा आग्रह गरे ।

मानवीय क्षति रोक्न खोपको व्यवस्थापन, उपचारको प्रभावकारी व्यवस्थापन, संक्रमण फैलन नदिन कडाइ एवं जनस्तरबाट उच्च सावधानीको विकल्प नभएको जनस्वास्थ्य विज्ञ डा. सुब्बाको भनाइ छ । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी सदानन्द भट्टराईका अनुसार प्रदेश १ मा साउन १ गतेयता मात्रै २० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ बिरामीको तुलनामा निको भएर डिस्चार्ज हुनेको संख्या अत्यन्तै न्यून छ ।