विराटनगर -  कोभिड–१९ का कारण बन्द रहेका विद्यालयलाई विद्यार्थीका अभिभावकबाट ५० प्रतिशत मात्रै शुल्क असुल गर्न विराटनगर महानगरपालिकाले निर्देशन गरेको छ । महानगर क्षेत्रका सबै संस्थागत विद्यालयलाई पत्र लेखेरै साविक स्थितिको शुल्क परिमार्जन गरेर अभिभावकसँग ५० प्रतिशत मात्रै असुल गर्नका लागि आग्रह गरेको हो ।

विद्यार्थीहरुले अनलाइन कक्षा लिईरहेको अवस्थामा भौतिक उपस्थिति भएकै अवस्थाको शुल्क नअसुल्न महानगर शैक्षिक प्रशासनले निर्देशन गरेको छ । ५० प्रतिशत शुल्क लिदाँ समेत अभिभावकको सहमति लिनुपर्ने महानगरको निर्देशनमा भनिएको छ । महामारीका कारण अभिभावकले समेत रोजगारी गुमाएको, व्यापार–व्यवसायमा ह्रास आएको भन्दै मासिक शुल्क आधा मात्रै लिनका लागि निर्देशन गरिएको हो ।

महानगर भित्र रहेका सबै संस्थागत विद्यालयलाई पत्र लेखेर अभिभावक र व्यवस्थापन पक्षसँग समेतको उपस्थितिमा अनलाइन कक्षाको शुल्क निर्धारण गरिने उल्लेख गरिएको  छ । ५० प्रतिशतमा नबढ्ने गरि शुल्क असुल गर्न महानगर शैक्षिक प्रशासन प्रमुख दुर्गाप्रसाद खतिवडाले निर्देशन दिएको बताए ।