विराटनगर-  आफ्नो नाममा कायम रहेको जग्गा अलगअलग व्यक्तिलाई बेच्ने खोज्ने उर्लाबारीकी एक महिला जिल्ला अदालत मोरङको आदेशबाट कारागार चलान भएकी छन् । उर्लाबारी नगरपालिका–८ की ४५ वर्षीया जानुका भुजेल अदालतले माग गरेको धरौटीबापतको रकम बुझाउन नसकेपछि कारागार चलान भएकी हुन् ।

न्यायाधीश दुर्गा खड्काको इजलासलले उनलाई गत बिहीबार एक लाख ५० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतका सूचना अधिकारी राजेन्द्र धमलाका अनुसार धरौटीबापतको रकम बुझाउन नसक्दा जानुकालाई थुनामा राख्न कारागार चलान गरिएको हो । एक जनालाई बेचिसकेको जग्गा जानुकाले आफ्ना श्रीमान ५४ वर्षीय शिवकुमार भुजेलसँग मिलेर पुनः अर्कैलाई बेच्ने प्रयास गरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ ।

राजघाट ७ (ख) कित्ता नम्बर १४४८ र १४५१ नम्बरको १० धुर जग्गा भुजेल दम्पत्तिले २०७६ साल पुस २७ गते पहिलो पटक उर्लाबारी–९ की सीतादेवी सुब्बालाई एक लाख ५० हजार रूपैयाँमा बिक्री गरेका थिए । त्यही जग्गा २०७७ साल असोज १६ गते उर्लाबारी–७ की लक्ष्मी लिम्बूलाई पनि दोस्रो पटक बिक्री गर्न खोजिएको अनुसन्धानले देखाएको छ । लिखत कागज नै गराएर लक्ष्मीलाई सात लाख रूपैयाँमा बिक्री गर्न खोजिएको प्रहरीले जनाएको छ ।

किन्नलाई कागज गरिसकेको जग्गा त्यसअघि नै अर्कैलाई बिक्री गरेको थाहा पाएपछि लक्ष्मीले आफूमाथि ठगी गर्न खोजिएको भनेर दिएको किटानी जाहेरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । भुजेल दम्पत्तिविरुद्ध लक्ष्मीले गत असार २३ गते जाहेरी दिएको प्रहरीले जनाएको छ ।

उर्लाबारीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजाराम खड्का नेतृत्वको टोलीले जानुकालाई गत असार २६ गते घरैबाट पक्राउ गर्यो । उनका श्रीमान शिवकुमार भने फरार रहेकाले खोजी जारी राखिएको प्रहरीको भनाइ छ । पक्राउ गरेर प्रहरीले चलाएको ठगी मुद्दामा अदालतले माग गरेको धरौटी रकम बुझाउन नसकेपछि जानुका कारागार चलान भएकी हुन् ।