विराटनगर - मोरङको उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीको फोटो राखेर फेसबुकमा अश्लिल शब्द लेख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी–४ का ३३ वर्षीय युवराज खरेल रहेका छन् ।

अश्लिल शब्द प्रयोग गर्दै फेसबुकमा उपमेयर भण्डारीविरुद्ध तथानाम गाली गरेको पाइएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीलाई पक्राउ गरेर खरेललाई कानुनी कारबाहीको दायरामा ल्याएको हो । खरेलविरुद्ध भण्डारीले प्रहरीमा किटानी जाहेरी दिएकी थिईन । भेटेका ठाउँमा र बाटोमा एवं फेसबुकमार्फत पनि गालीगलौज गर्ने गरेको कुरा उनले जाहेरीमा खुलाएकीछन ।

प्रहरीले खरेलविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरेर घटनाको अनुसन्धान थालेको छ । खरेलको परिवारमा श्रीमान–श्रीमतीबीच लामो समयदेखि झगडा भइरहेको उपमेयर भण्डारीले बताईन । श्रीमतीलाई कुटपिट गर्ने र घर निकालासमेत गर्ने गरेपछि समस्या समाधानका लागि नगरपालिकाको न्यायिक समितिमा दुई÷तीन पटक छलफल गरिएको उनको भनाइ छ ।

उनका अनुसार न्यायिक समितिमा झगडा नमिलेपछि खरेलले श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका थिए । त्यसपछि खरेलले फेसबुकमा फोटो राखेर आफूविरुद्ध विभिन्न अश्लिल कुरा लेख्ने र भेटेका ठाउँमा समेत गालीगलौज गर्दै हैरान पार्न थालेको भण्डारीको भनाइ छ ।