विराटनगर– विराटनगर महानगरपालिकाले स्थानीय पाठ्क्रम तयार गरेको छ । स्थानीय भुगोल, भाषा, पर्व र संस्कृति लगायतका विषय समेटेर पाठ्क्रम तयार गरिएको हो । कक्षा १–५ सम्म लागु हुने स्थानीय पाठ्क्रमको शुक्रबार विमोचन गरिएको छ ।  विद्यार्थीमा स्थानीयतहको भौगोलिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक विषयको ज्ञान दिने उद्देश्यले पाठ्क्रम तयार गरिएको महानगर प्रमुख भीम पराजुलीले बताए ।

महानगर क्षेत्रका विद्यालय अनुगमन गर्दा विद्यार्थीमा स्थानीयताबारे ज्ञानको कमी भएको आफुले पाएपछि स्थानीय पाठ्क्रम तयार गर्न निर्देशन दिएको उनले बताए । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ मा भएको प्रावधान अनुसार स्थानीय तहले विद्यालय तहको पाठ्यक्रममा १ सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गर्न पाउने व्यवस्था अनुसार विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले ‘हाम्रो विराटनगर’  निर्माण गरेको हो ।

पाठ्क्रम विराटनगर क्षेत्रका सवै नीजि तथा सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०७८ देखि अनिवार्य लागु गरिएको महानगर प्रमुख पराजुलीले बताए । उनले भने,‘ यही पाठ्यक्रममा आधारित रहेर स्थानीय भाषामा पनि प्रकाशित हुने छ । ’नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले पाठ्यक्रमले कक्षा १–५ सम्मका विद्यार्थीलाई स्थानीय तहका भुगोल, इतिहास, परम्परा र संस्कृतिको बारेमा जानकार बनाउने बताए ।

संस्थागत विद्यालय राजन छराहाङ, शिक्षक महासंघका सचिव डेकबहादुर बास्तोला, नेपाल शिक्षक संघका अध्यक्ष शिवराज कोइराला, विराटनगर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने लगायतले पाठ्यक्रम विकासले विद्यार्थीलाई स्थानीयतावारे बुझ्न सजिलो हुने बताए । कक्षा ६–८ सम्मको परिष्कृत पाठ्यक्रम पनि चाडैनै निर्माण गरिने प्रमुख पराजुलीले बताए ।  प्राध्यापक डा.अनिल पोखरेलको संयोजनमा स्थानीय पाठ्यक्रम निर्माण समितिले पाठ्यक्रम निर्माण गरेको हो ।