विराटनगर - प्रदेश १ मा  बुधबारसम्म १ लाख ५२ हजार ५१६ जनाले कोभिड–१९ विरुद्धको पूर्ण डोज खोप लगाएका छन् । प्रदेश १ मा रहेका १४ जिल्लाका नागरिकमध्ये ५२ हजार ८५५ जनाले कोभिसिल्ड र ६४ हजार १८५ जनाले भेरोसेल खोपको दुवै डोज लगाएका हुन् ।

स्वाथ्य निर्देशानालय धनकुटाका अनुसार ६ लाख १० हजार ८१९ जनाले खोपको पहिलो मात्रा लगाईसकेका छन् । जसमध्ये बुधबार बेलुकासम्मको तथ्यांक अनुसार ३ लाख ७ हजार १८० जना कोभिसिल्डको पहिलो मात्रा लगाउने रहेका छन् । प्रदेशमा ३ लाख ३ हजार ७११ जनाले भेरोसेल र ३५ हजार ४७६ जनाले जोनसेन खोपको पहिलो मात्रा लगाईसकेका छन ।

प्रदेशको जनसंख्याका आधारमा झण्डै ५ प्रतिशत नागरिक मात्रै पूर्ण खोपको पहुँचमा रहेको निर्देशानालयका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए  ।प्रदेश १ मा झापा जिल्लाका ६३ हजार ११६ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् । अन्य जिल्लाका तुलनामा सबैभन्दा बढी झापामा भेरोसेल खोपको लगाउनेको संख्या धेरै रहेको बस्नेतले बताए ।

सुनसरीमा ५२ हजार ८९३, मोरङमा ३१ ह्जार ११०, इलाममा १६ हजार ५५९, खोटाङमा ११ हजार ९१४, धनकुटामा ११ हजार २७५, संखुवासभा मा १० हजार ९८७ र भोजपुरमा १० हजार ३५० जनाले भेरोसेलको पहिलो मात्रा लगाईसकेका छन् । सोलुखुम्बुमा ४ हजार ९३०, ताप्लेजुङमा ४ हजार ६२, तेह्रथुममा ४ हजार ९१६, पाँचथरमा ७ हजार ३९३, ओखलढुंगामा ८ हजार २७७ र उदयपुरमा ९ हजार ६२० जनाले भेरोसेलको पहिलो मात्रा लगाएको तथ्यांक छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कोल्डचेन निरीक्षक चन्द्रकान्त ठाकुरका अनुसार हालसम्म एकलाख ७८ हजार २०० डोज जिल्लाहरुमा पठाइएको छ ।