विराटनगर- मानिससहित मोरङको ग्रामथानको एउटा नहरमा गय राति खसेको मोटरसाइकल फेला परेको छ । तर मोटरसाइकल चालक भने अहिलेसम्म पनि सम्पर्कविहीन छन् । मध्यरातमा गाउँपालिका–५ स्थित खद्रा नहरमा मोटरसाइकलसहित मानिस खसेर बेपत्ता भएको जानकारी स्थानीयले प्रहरीलाई दिएका थिए ।
स्थानीयका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा अनियन्त्रित भएर स ४ प ५३३८ नम्बरको मोटरसाइकलसहित एक व्यक्ति राति ११ बजेतिर पानी बगिरहेको नहरमा खसेका हुन् । स्थानीयले भने अनुुसार खोजी जारी राखेको भए पनि प्रहरीले चालकलाई फेला पार्न सकेको छैन । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मोटरसाइकल चालकको पहिचान पनि खुल्न बाँकी छ । तर खोजी गर्ने क्रममा मोटरसाइकल भने पानी बगिरहेकै नरहमा फेला परेको जानकारी उनले दिए । ‘
नहरमा खसेर बेपत्ता भएको भनिएका मोटरसाइकल चालक को हुन्भन्ने बारेमा केही खुलेन । स्थानीय बासिन्दाको सहयोगमा खोजी तीव्र पारे पनि भेट्न सकिएको छैन,’ डीएसपी श्रेष्ठले भने, ‘नहरमा सबै पानी सुकाएर खोजी जारी राखिएको छ । मोटरसाइकल नम्बरका आधारमा पहिचानको प्रयास पनि भइरहेको छ ।’ मोटरसाइकलका बारेमा जानकारी राख्ने कोही पनि व्यक्ति प्रहरीको सम्पर्कमा आइसकेका छैनन् ।
रातको समयमा ति व्यक्ति कता पुगेर आएका थिएभन्ने पनि खुल्न सकेन । पानी बगिरहेको नहरमा खसेपछि मोटरसाइकल त्यहीँ छाडेर ति व्यक्ति भागेको पनि हुनसक्ने आशंका प्रहरीको छ ।

