विराटनगर-  तस्करीको माछासहित प्रहरीले विराटनगरबाट आज बिहान एक जना भारतीय महिलालाई पक्राउ गरेको छ । भारतको जोगवनीबाट तस्करी गरेर माछा ल्याउँदै गर्दा ३९ वर्षीया नीलम सहनीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भाँडामा राखेर सीटी सफारीको प्रयोग गर्दै माछा ल्याउँदै गर्दा पक्राउ परेकी भारत अररियाकी सहनीलाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालयको जिम्मा लगाइएको छ ।

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१५ दक्षिण गेटबाट बिहान ८ बजेतिर तस्करीको आठ सय किलो माछासहित सहनीलाई प्रहरीले पक्राउ गरेको हो । तस्करीको जलकपुर र मंगुर जातका माछा क्वारेन्टाइनसँगको समन्वयमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।