विराटनगर - ‘सुरक्षित नागरिक आवास’ कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा सुनसरी र मोरङमा ८ सय १ जना विपन्न र आर्थिक अवस्था कमजोर भएका घरपरिवारहरूको फुसको छानो हटाएर जस्तापाता लगाइएको छ । आर्थिक वर्ष २०७७–०७८ मा मोरङमा ४ सय १७ र सुनसरीमा ३ सय ८४ विपन्न परिवारको फुसको छानो हटाएर जस्तापाता लगाइएको हो ।

आवास कार्यक्रम अन्तर्गत मोरङमा ५ हजार ११ वटा फुसको छानो हटाएर जस्तापाता लगाउने सम्झौता भएर छनौट भएको थियो । छनोटमा परेका मध्ये ४ सय १७ जना विपन्न परिवारको फुसको छानो हटाएर जस्तापाता लगाएको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ मोरङका सूचना अधिकारी अशोक रामले जानकारी दिए । यस्तै सुनसरीमा ३ हजार २ सय २८ वटा विपन्न परिवारको घरको फुसको छानो हटाएर जस्तापाता लगाउने सम्झौता भएको थियो ।

जसममध्ये ३ सय ८४ घरमा जस्तापाता लगाएको हो । फुसको छाना हटाएर जस्तापाता लगाउने मोरङको रंगेली नगरपालिका ५०, लेटाङ्गमा ६०, उर्लाबारीमा १५, रतुवामाइमा १२९ र पथरीशनिश्चरेमा १ सय ६२ घरमा फुसको छानो हटाएर जस्तापाता लगाएको सूचना अधिकारी रामले जानकारी दिए । यस्तै सुनसरीको बराह नगरपालिकामा २९, इनरुवामा १४६, हरीनगरा गाउँपालिकामा ४९, बर्जु गाउँपालिकामा ६०, रामधुनी नगरपालिमा ४८ र भोक्राहा गाउँपालिकामा ४२ घरमा फुसको सानो हटाएर जस्तापाता लगाएको छ । छनौटमा परेर सम्झौतामा रहेका घरहरू क्रमशः बन्दै जाने उनको भनाई छ ।