विराटनगर-  पिलोको शल्यक्रिया गरिएका एक जना वृद्ध पुरुषको मृत्यु भएपछि विराटनगरको गोल्डेन अस्पतालमा सोमबार राति तोडफोड र हुलदंगा भएको छ । मलद्धारमा रहेको पिलो (घाउ)को शल्यक्रिया गरिएका मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाका ६७ वर्षीय अहमद हुसेनको राति १० बजेतिर मृत्यु भएको हो ।

सोमबार साँझ ७ बजेतिर शल्यक्रिया गरिएका वृद्धको उपचारकै क्रममा भेन्टिलेटरमा मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले जानकारी दिए । उनका अनुसार सोमबार बिहान भर्ना गरिएका वृद्धको मलद्धारमा रहेको पिलोको सर्जन डा. सरोज राजवंशीको टोलीले शल्यक्रिया गरेको हो । वृद्धको मृत्यु भएपछि आक्रोसित बनेका आफन्त र परिवारका सदस्यले मध्यरातमा अस्पतालमा तोडफोड गरेका छन् । तोडफोडबाट काउण्टरको झ्यालका शिशा फुटेका छन् । २५/३० जनाको समूहले अस्पतालका कर्मचारी एवं सुरक्षागार्डमाथि कुटपिट पनि गरेको मेहताले बताए । उनका अनुसार बिरामीको मृत्यु भएको केही बेरमै जम्मा भएको भीड आक्रोसित बनेर अस्पतालमाथि खनिँदा अवस्था तनावपूर्ण बन्यो ।

‘पिलोका कारण सङ्क्रमण फैलिएर बिरामीको मृगौला, मुटुलगायत शरीरका विभिन्न अङ्गले काम गर्न छाडिसकेको रहेछ,’ मेहताले भने, ‘सङ्क्रमण रोक्न र बिरामीलाई बचाउन शल्यक्रियाको विकल्प थिएन ।’ वृद्ध पुरुषमा मधुमेह र न्यून रक्तचापको पुरानै समस्या रहेको उनँको भनाइ छ । मेहताका अनुसार मलद्धारको घाउका कारण बढ्दो सङ्क्रमणसँगै शरीरका भित्री अङ्ग निस्कृय हुँदा ‘मल्टिपल अग्र्यान फेलर’ भएर बिरामीको मृत्यु भएको जानकारी चिकित्सकले दिएका छन् । चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्त र परिवारका सदस्य तोडफोड र कुटपिटमा उत्रिएका हुन् । आक्रोसित भीडलाई रोक्न र सम्झाईबुझाई गर्न खोज्दा कर्मचारी र सुरक्षागार्डमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले कुटपिट र तोडफोडमा संलग्न सात जनालाई पक्राउ गरेर घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको जानकारी दिए । उनका अनुसार धनपालथान–६ का ३४ वर्षीय मोहमद आजाद, ३३ वर्षीय मोहमद अख्तर, ३० वर्षीय मोहमद साजद, २३ वर्षीय मोहमद जुवेर, ३८ वर्षीय नारायण सहनी, ३६ वर्षीय मोहमद इरसाद र २० वर्षीय मोहमद सुवेरलाई पक्राउ गरिएको छ ।

मृतकको शव भने अस्पतालमै छ । शव बुझ्न कोही पनि आफन्त नआएको अस्पतालका प्रशासकीय अधिृकत मेहताले बताए । मृतकका आफन्तले भने शल्यक्रियामा कमजोरी गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने माग राखेका छन् ।