विराटनगर– सुनसरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षसँग वार्ता गर्न समिति गठन गरेको छ । सरकारले डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन भएको आफुहरुलाई औपचारिक रुपमा जानकारी आएकोे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जुनियर रेजिडेन्ट वेल्फेयर सोसाईटीका उपाध्यक्ष डा.पदम नेपालीले बताए । वार्ता टोली सदस्यहरुमा मन्त्रालयका कानुनका उपसचिव मानबहादुर बस्नेत र प्रशासनका अधिकृत देवराज भण्डारी रहेका छन् ।


प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिले शनिबार सरकारलाई वार्ता समिति बनाउन र मागका विषयमा ठोस कदम चाल्न ७२ घण्टाको अल्टमेटम दिएको थियो । जुनियर रेजिडेन्ट वेल्फेयर सोसाईटीका उपाध्यक्ष डा.नेपालीले भने,‘ ७२ घण्टाको अवधिमा पनि सरकारले आवश्यक कदम नचाले उपचार लगायतका सेवा तथा काम बहिष्कारको चेतावनी दिएका थिएका थियौं ।’ प्रतिष्ठानका चिकित्सक, कर्मचारी र विद्यार्थीले प्रतिष्ठान सुधारका लागि विभिन्न १२ बुँदे माग राख्दै असार १ गतेदेखि आन्दोलन गर्दै आइरहेका छन् ।

सरकारले समिति गठन गरेर बीपीको समस्या समाधानमा आफ्नो ध्यान केन्द्रित गर्नुलाई सकारात्मक रुपमा लिनुपर्ने डा. नेपालीले बताए ।
प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वैकुण्ठ अर्याल संयोजकत्वको अध्ययन कार्यदलले प्रतिवेदन तयार गरेको छ । ८ सदस्यीय कार्यदलले सुझाव सहितको प्रतिवेदन तयार गरेको डा. नेपालीले बताए ।

प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउन बाँकी रहेको छ । प्रधानमन्त्रीमा देउवा नियुक्त भए लगत्तै असार ३० नागरिक दवाव समितिले ४८ घण्टा भित्र विपीको समस्या समाधानका लागि अल्टिमेटम दिए । प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्यालको संयोजकत्वमा ८ सदस्यीय उच्चस्तरिय समिति गठन गरेका थिए । अध्ययन टोलीले प्रतिष्ठानका हरेक इकाईमा बेथिति र मनोमानीले अनियमितता मौलाएको ठहर गरेको श्रोतको भनाई छ ।