विराटनगर- कोटा प्रणालीका कारण भिडियो ए–क्सरे गर्ने पालो नआएको भन्दै विराटनगरको कोसी अस्पतालमा उपचार तथा स्वास्थ्य परीक्षणका लागि पुगेका बिरामी आन्दोलनमा उत्रिएका छन् । चिकित्सकले गरेको सिफारिस अनुसार भिडियो ए–क्सरे गराउने पालो नआउँदा बिरामी आन्दोलित बनेका हुन् । उनीहरुले सोमबार बिहान अस्पतालअगाडि प्रदर्शन र नाराबाजी गरे ।

जनशक्ति कम भएकाले अस्पतालले भने कोटा प्रणाली लागू गरेर एक दिनमा २० जनाको मात्रै भिडियो ए–क्सरे गर्न थालेको छ । बिल काटिसकेको लामो समयसम्म पनि भिडियो ए–क्सरेको पालो नआएको र अस्पतालले भोलि आउनू भनेपछि आन्दोलनमा उत्रनु परेको विराटनगर–५ का मोहम्मद हुसेनले बताए । स्वास्थ्यमा समस्या बढेर निक्कै गाह्रो भइसक्दा पनि अस्पतालले बिरामीको उपचारमा ध्यान नदिएको गुनासो उनको छ । आन्दोलनमा उत्रिएकाले बिल काटिसकेका बिरामीको तत्काल भिडियो ए–क्सरे लगायतका अरु परीक्षणलाई प्रभावकारी बनाइनुपर्ने माग राखेका छन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवले रेडियोलोजिस्टको अभावका कारण बिरामीले समयमै अल्ट्रासाउण्ड (भिडियो ए–क्सरे) सेवा पाउन नसकेको स्वीकार गरे  । उनका अनुसार अस्पतालमा पाँच जना रेडियोलोजिस्टको थियो दरबन्दी थियो । चार जना कार्यरत रहेकोमा दुई जनाले राजीनामा दिएका छन् ।

एक जना बिदामा बसेका कारण एक जनाले मात्रै सेवा दिनुपर्ने अवस्था रहेको यादवले बताए । अस्पतालमा दैनिक उपचार र स्वास्थ्य परीक्षणका लागि पुग्ने एक हजारभन्दा बढी बिरामीमध्ये लगभग दुई सय जनाजतिको ए–क्सरे हुँदै आएको थियो । जनशक्ति थपेर सेवालाई प्रभावकारी बनाउन पहल भइरहेको डा. यादवको भनाइ छ ।