विराटनगर– कुनै समय दक्षिण एशियाको नामी अस्पतालका रुपमा परिचित थियो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा अस्पताल) धरान । पुर्वका अधिकांश मानिसको उपचारको थलोको रुपमा घोपा अस्पताल मुखमै झुण्डिएको थियो ।
कसैले उपचारका लागि सल्लाह दिनुपरे घोपा लैजानु भनेर भन्ने गर्थे । तर, पछिल्ला वर्षहरुमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्नो शाखा गुमाउँदै लगेको छ । प्रदेश १ र २ का साथै भारतका नागरिकहरुको पनि उपचार गर्ने थलोको रुपमा परिचित विपी प्रति आम मानिसको आकर्षण घटेको छ । सकभर धरान लैजानु नपरोस् भन्ने मानसिकता विकास हुँदै गएको छ । पुर्वी पहाडी जिल्लाका विरामीहरु पनि विराटनगरका अस्पतालमा आउने गरेका छन् ।
वि.स. २०४९ सालमा स्थापना भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले झण्डै १३ वर्षमा पूर्व क्षेत्रका अधिकांशको नजरमा राम्रो अस्पतालका रुपमा ख्याती कमाउन सफल रह्यो । डा. मदन उपाध्याय, डा. सुन्दरमणि दिक्षित र डा. शेखर कोइराला उपकुलपति हुँदा सम्म वीपी नमूना अस्पतालका रुपमा परिचित थियो । २०६२–०६३ को दोश्रो जनआन्दोलन पछि विपीमा बेथिति बढेर गएको जानकारहरु बताउँछन् ।
जनआन्दोलनको मौका छोपेर अवैध कामहरु शुरु भयो । पदाधिकारी नियुक्ती विवाद, प्रश्नपत्र बाहिरिने, नियुक्तीमा आर्थिक चलखेलहरु शुरु हुन थाले । दोश्रो जनआन्दोलन देखि हाल सम्मको अवस्थामा अख्तियारमा मात्र ४ दर्जन मुद्धा परेको वीपी कोइराला सुधार नागरिक दवाव समितिका संयोजक डा. राजेन्द्र शर्माले बताए । पछिल्लो समय वेथितिको चाङनै लाग्न थालेको उनले बताए ।
उनले भने,‘ वेथितिको फाईल नै लामो बनिसक्यो ।’ शुरुवातका समयमा सार्क क्षेत्रबाट विद्यार्थी अध्ययनका लागि आउने गरेको उनले बताए । पछिल्लो समय वीपीमा दैनिक हुने आन्दोलनका कारण विदेशबाट विद्यार्थी पढ्नका लागि पनि आउन छाडेको उनले बताए । उनले भने,‘ पछिल्लो समय वीपीमा दैनिक जसो आन्दोलन हुने गरेको छ ।’
वीपीमा व्यवस्थापकीय कुसलता शुन्य
प्रदेश १ का निवर्तमान सामाजिक विकास मन्त्री जीवन घिमिरेले वीपी प्रतिष्ठानको नेतृत्वमा व्यवस्थापकीय कुसलता नभएको बताउँछन् । आफु प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा रहँदा देखिएको मुख्य समस्याका रुपमा नेतृत्वकर्तामा व्यवस्थापकीय कुसलता नहुनु रहेको उनले बताए ।
घिमिरेले भने,‘ प्रतिष्ठानभित्र राजनीतिक द्वन्द्व र व्यवस्थापन भित्र पनि एकमत नहुनु अर्को समस्या छ ।’ आफ्नो छुट्टै पहिचान बनाएको वीपी प्रतिष्ठानको बद्नाम हुँदै जानु राम्रो नभएको उनले बताए । संवन्धित निकायले समयमै यसलाई सुधार गरेर लैजानु पर्ने उनले बताए ।

