विराटनगर- मोरङको सुन्दरहरैँचा नगरपालिका–१० विराट चोकको त्रिवेणी टोलमा रहेको एउटा सुनचाँदी पसलमा भएको लुटपाटको प्रयासमा माओवादीका पूर्वलडाकु र पूर्वनेपाली सेनाको संलग्नता देखिएको छ । खगेन्द्र थापाले सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्समा गत साउन १ गते दिउँसो दिनदहाडै लुटपाटको असफल प्रयास भएको थियो ।

अत्याधुनिक हतियार देखाएर सर्वसाधारणलाई आतंकित एवं त्रसित बनाउँदै गरिएको लुटपाट प्रयासमा माओवादीका पूर्वलडाकु र पूर्वनेपाली सेना सम्मिलित गिरोहको संलग्नता प्रहरीले पुष्टि गरेको हो । गिरोहमा संलग्न छ जना अत्याधुनिक एवं स्वचालित हतियार र ठूलो मात्रामा गोलीसहित पक्राउ परेका छन् । सुनसरीमा योजना बनाएर यो गिरोहले लुटपाटको प्रयास गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।

लुटपाट प्रयासको दृष्य सुनचाँदी पसलमा रहेको सीसी टिभी फुटेजमा कैद छ । ‘अघिल्लै दिन लुटपाट गर्ने योजनासहित आएको पाइयो,’ जिसीले भने ‘सफल नभएपछि भोलिपल्ट गरिएको अर्को प्रयासमा पनि उनीहरु सफल नभएको खुलेको छ ।’ लुटपाटमा सात जनाको संलग्नता देखिए पनि प्रहरीले छ जनालाई मात्रै पक्राउ गरेको छ । पहिचान खुल्न बाँकी रहेका एक जनाको खोजी तीव्र पारिएको जिसीले बताए । सुरक्षाकर्मीको विशेष टोलीले मात्रै प्रयोग गर्न पाउने एसएमजी (मेसिनगन) र पेस्तोलसमेतका हतियारको प्रयोग गर्दै गिरोहले अपराधिक गतिविधी गरिरहेको जिसीले बताए ।

प्रहरीले गिरोहमा संलग्न संखुवासभाको सभापोखरी गाउँपालिका–४ घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा डेरा गरी बस्दै आएका ३९ वर्षीय चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका–१ का ४५ वर्षीय डाइमण्ड भनिने प्रमोद चौधरी, संखुवासभाको बाह्रबिसे घर भइ तरहरामा बस्दै आएका ३० वर्षीय चिरञ्जिवी राई, मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का २२ वर्षीय मिसन राई, सुन्दरहरैँचा–७ का ३१ वर्षीय सन्तोष राई र भोजपुरको पैवादुम्मा गाउँपालिका–३ घर भइ तरहरामा बस्दै आएका ३० वर्षीय नगेन्द्र राईलाई पक्राउ गरेको हो ।

पक्राउ परेका छ जनालाई विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिएको छ । यो गिरोहलाई मोरङ प्रहरीका डीएसपी मञ्जील मुकारुङको नेतृत्वमा प्रदेश १ प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाको संयुक्त टोलीले पक्राउ गरेको हो । ठूलो मिहिनेत एवं मजवुत अनुसन्धानपछि अत्याधुनिक हतियारधारी समूहलाई पक्राउ गर्न डीएसपी मुकारुङ नेतृत्वको टोली सफल भएको हो । पक्राउ परेकामध्ये चन्द्रबहादुर नेपाली सेनाको शेरजंग गणमा कार्यरत पूर्वजवान रहेको खुलेको छ ।

उनले तीन वर्षअघि जागिर छाडेका थिए । घटनामा प्रयोग गरिएको हतियार ल्याउने, व्यवस्थापन गर्ने र लुकाउने कामको नेतृत्व उनले गरेको एसपी जिसीले बताए । त्यस्तै डायमण्ड भनिने प्रमोद चौधरी माओवादीका पूर्वलडाकु हुन् । मान्छेको हत्यामा संलग्न उनीविरुद्ध सुनसरीबाट कर्तव्य ज्यान मुद्दा चलेको थियो । उक्त मुद्दामा कैद सजाय भुक्तान गरेर डेढ वर्षअघि मात्रै छुटेपछि उनी राईसँग मिलेर अपराधिक गिरोह खडा गर्दै लुटपाट लगायतका घटनामा संलग्न हुन थालको प्रहरीका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

२०५७ सालदेखि २०६३ सालसम्म उनले तत्कालीन विद्रोही माओवादीको लडाकुका रूपमा काम गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार अपराधिक पृष्ठभूमि रहेका पूर्वसेना र लडाकुको संयुक्त गिरोह अत्याधुनिक हतियारको बलमा अपराधमा संलग्न रहेको पुष्टि भएको छ । उनीहरु विगतमा कुनै न कुनै अपराधिक घटनामा जोडिएको प्रहरीले जनाएको छ । एसपी जिसीले पक्राउ परेकाहरुको साथबाट एउटा एसएमजी, त्यसको म्याग्जीन, ६२ राउण्ड गोली, कटुवा र अटोमेटिक गरेर दुईवटा पेस्तोल, पेस्तोलको एउटा म्याग्जीन, पेस्तोलको दुई र थ्री नट थ्री राइफलको चार राउण्ड गोली तथा दुईवटा सञ्चार सेट बरामद भएको बताए ।

उनका अनुसार को २ ह २७३६ नम्बरको अटो टेम्पो, प्रदेश १–०२–०४४ प ५९९५, को २० प १८६, को ८ प ६५८३ र को २१ प ६७०३ नम्बरका चारवटा मोटरसाइकल तथा विभिन्न आठवटा मोबाइल एवं १६ हजार एक सय रूपैयाँ नगद बरामद भएको छ । जिसीका अनुसार घटनामा प्रयोग गरिएको हतियार सुन्दरहरैँचा–५ स्थित नमुना सामुदायिक वनमा रहेको करमको रुखको टोड्काभित्र कार्टुनमा लुकाएर राखेको अवस्थामा बरामद भएको हो । पक्राउ परेकाविरुद्ध प्रहरीले हातहतियार खरखजना, डाँका, ज्यान मार्ने उद्योग र संगठित अपराधसहित चारवटा कसूरमा मुद्दा चलाउन आज म्याद थप गरेर घटनाका बारेमा थप अनुसन्धान अघि बढाएको छ ।