विराटनगर-  सुनसरीको इटहरी उपमहानगरपालिका–८ सोनापुरका एक युवा विराटनगरस्थित मामाघरमा बुधबार बिहान मृत भेटिएका छन् । विराटनगर महानगरपालिका–१२ स्थित मामाघरको कोठाको सुतेकै ओछ्यानमा २३ वर्षीय राजेश पाण्डे बिहान ८ बजेतिर मृत फेला परेको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले दिए ।

उनका अनुसार मामा अशोक झाको घरमा राजेश हिजो राति आएका थिए । खाना खाएर सुतेका उनलाई ओछ्यानमै मृत्यु भएको अवस्थामा भेटिएको जानकारी प्रहरीले प्राप्त गरेको छ । राजेश मंगलबार राति मामाका छोरा (भाइ) १४ वर्षीय शुभम झासँग एउटै कोठामा सुतेको श्रेष्ठको भनाइ छ । उनका अनुसार शुभम कोठाको खाटमा र राजेश भुइँमा सुतेका थिए ।
‘भोलिपल्ट बिहान माइजूले उठाउँदा मृत्यु भएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको रहेछ,’ उनले भने ‘मृतकलाई ओछ्यानबाट उठाएर घरको आँगन लगिसकेपछि प्रहरीले घटनाको जानकारी पाएको हो ।’ उनका अनुसार प्रहरीले शव देख्दा मृतक राजेशको मुखबाट फिँज आइरहेको थियो ।
 आँगनमा पुर्याएपछि मुखबाट फिँज आएको बताइएको छ ।

तर शरीरको बाहिरी भागमा चोटपटक भने नदेखिएको डीएसपी श्रेष्ठको भनाइ छ । मुखबाट फिँज आएको अवस्था हेर्दा मृतकको स्वास्थ्यमा पुरानो कुनै समस्या वा शरीरको भित्री भागमा चोटपटक थियो कि भनेर आशङ्का गर्ने ठाउँ भने रहेको उनले बताए ।

विराटनगरकै कोसी अस्पतालमा पोस्टमार्टम गरेर शव भने परिवारका सदस्यले बुझेर दाहसंस्कारका लागि लिएर गइसकेको श्रेष्ठको भनाइ छ । घटनाका बारेमा गम्भीर ढंगले  अनुसन्धान थालिएको जानकारी दिँदै उनले पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको कारण खुल्ने बताए ।