विराटनगर- चालकले मापसे (मादक पदार्थ सेवन) गरेर कुदाएको ट्रकका कारण झापाको दमकमा दुर्घटना हुँदा मंगलबार राति श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।
सुनसरीको इटहरीबाट झापाको सुरुंगातर्फ जाँदै गरेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको सिमेन्ट लोड गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय दमकका डीएसपी नवराज कार्कीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक झापाको कनकाई नगरपालिका–३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी श्रीमती ३६ वर्षीया भीमा विष्टको मृत्यु भएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि लाइफलाइन अस्पताल दमक पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको ट्रकले पूर्व–पश्चिम लोकमार्गअन्तर्गत दमक नगरपालिका–४ मा मंगलबार राति १०ः१० बजेतिर मोटरसाइकललाई ठक्कर दिएको कार्कीले बताए ।
ठक्कर दिने ट्रक र चालक विराटनगर महानगरपालिका–४ का ४८ वर्षीय सुजन थापालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको उनको भनाइ छ ।
चालकले मापसे गरेर तीव्र गतिमा ट्रक कुदाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी डीएसपी कार्कीले दिए ।

