विराटनगर -  विराटनगर महानगरपालिकाका वडाहरुमा कोरोनाविरुद्धको खोप लगाउन मंगलबारबाट सुरु गरिएको छ । महानगरपालिकाका १८ वटा वडाहरुमा सोमबारदेखि खोप अभियान सुरु गरिएको हो । संघीय सरकारले पठाएको चिनियाँ खोप भेरोसेल ५५ वर्ष उमेरभन्दा माथिका नगरवासीलाई लगाउन थालिएको बताईएको छ ।

महानगरका प्रमुख भीम पराजुलीले संक्रमणको जोखिमलाई मध्यनजर गरी भिड हुन नदिई अभियान सञ्चालन गर्ने गरी वडाहरुमा व्यवस्थापन मिलाइएको बताए   ।”विराटनगर–६ का वडाध्यक्ष विजय कामतले वडाहरुमा तोकिएको खोप केन्द्रमा मापदण्डानुसारका व्यक्तिहरुलाई खोप लगाउने व्यवस्था मिलाइएको जानकारी दिए ।

“सकेसम्म भौतिक दूरी र संक्रमणको जोखिम नहुने गरी व्यवस्थापन गरेको ” उनको भनाई छ । महानगर क्षेत्रका फ्रन्टलाइनर, कर्मचारी, यातायात मजदुरलगायत प्राथमिकताप्राप्त समूहलाई वडामा खोप नदिइने बताइएको छ । उनीहरुले महानगरले सञ्चालन गरेको वीरेन्द्र सभागृह र कोसी अस्पतालस्थित केन्द्रमा गई खोप लगाउन सक्ने व्यवस्था मिलाइएको महानगरले जानकारी दिएको छ  ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुले जिल्ला प्रशासन कार्यालयको सिफारिस लिएर जनस्वास्थ्य कार्यालयमा गई कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सन कम्पनीको अमेरिकी खोप लगाउन पाउनेछन् ।.