विराटनगर-  जिल्ला अदालत सुनसरीको विवादस्पद आदेशबाट धरौटीमा छुटेका नेपाली नागरिकता लिने भारतीय नागरिकलाई पूर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत विराटनगरले आदेश दिएको छ । सुनसरी अदालतको विवादस्पद आदेश बदर गर्दै उच्चले सुनसरीको साविकको दुहवी–६ बाट नेपाली नागरिकता लिएका अभियुक्त अनिरुद्र भनिने अनिरुद्ध शर्मालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश किरणदेवी गुप्ताको संयुक्त इजलासले शर्मालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज सुवेदीले बताए । विद्यमान कानुनी व्यवस्थालाई मिचेर जिल्ला अदालत सुनसरीका न्यायधीश हेमबहादुर सेनको इजलासले शर्मालाई गत जेठ १६ गते ६० हजार रूपैयाँ धरौटीमा छाड्ने विवादास्पद आदेश दिएको थियो । उच्चले जिल्लाको उक्त आदेश बेरीतको रहेको ठहर गर्दै हिजो बदर पनि गरिदिएको सुवेदीले बताए ।

उनका अनुसार उच्चबाट जिल्लाको आदेश बदर गर्दै प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राख्न सुनसरी अदालतका नाममा आदेश जारी भएको छ । अभियुक्तलाई प्रमाण नष्ट गर्ने र भाग्ने मौका दिएर सुनसरी अदालतबाट आदेश आएको भन्दै कानुनका विज्ञहरुले चर्को विरोध गरेका थिए । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (२) ‘ख’ बमोजिम एक वर्ष वा सोभन्दा बढी कैद सजाय हुनसक्ने कसूरको अभियोग लागेका विदेशी अभियुक्त (विदेशी नागरिक)लाई पूर्पक्षका लागि थुनामै राख्नुपर्ने कानुनी प्रावधान छ । झुठा विवरण पेस गरेर सुनसरीको साविकको दुहवी–६ बाट २०६३ साल माघ ७ गते नेपाली नागरिकता लिएको खुलेको थियो ।

झुठा विवरण पेस गरेर नेपाली नागरिकता लिएका विदेशी नागरिकलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना अर्थात दुवै सजाय हुने कानुनी प्रावधान छ । नागरिकताजस्तो संवेदनशील विषयलाई सामान्य ठानेर अदालतले धरौटी वा साधारण तारेखमा छाड्ने आदेश दिँदा आगामी दिनमा झुठा विवरण पेश गरेर नेपाली नागरिकता लिन विदेशीलाई बल पुग्ने कानुनका विज्ञहरुको तर्क छ ।

नागरिकता वितरण टोलीमार्फत जन्मसिद्धका आधारमा शर्माले ०३३००९÷३२५ नम्बरको नेपाली नागरिकता लिएको प्रमाण फेला परेपछि सुुनसरी प्रहरीले उनीविरुद्ध नागरिकता ऐनअन्तर्गत मुद्दा चलाएको थियो । उनी वैशाख २० गते विराटनगरबाट पक्राउ परेका हुन् । शर्माको नाममा एसपीजे ०२३९३३५ नम्बरको भारतीय मतदाता परिचयपत्र छ । उच्चले थुनामा राख्न आदेश दिए पनि गलत विवरण पेस गरेर नेपाली नागरिकता लिएका शर्मा भने जिल्लाले धरौटीमा छाड्न आदेश दिएपछि नै फरार बनेको प्रहरी स्रोतको भनाइ छ । सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले उच्चको आदेशपछि शर्माको खोजी तीव्र पारिएको बताए ।