विराटनगर -  विराटनगर लगायत मोरङका स्थानीय तहहरुले सोमबारदेखि कोरोना विरुद्धको खोप अभियानलाई पुनः सञ्चालन गरेका छन् । मोरङको सुन्दरहरैंचा, विराटनगर लगायतका स्थानीय तहहरुले सोमबारदेखि खोप लगाउने तालिकासहितको सूचना प्रकाशन गरेका छन् ।

नेपाल सरकारले चीनसँग खरिद गरेको भेरोसिल्ड खोप आएसँगै ५५ वर्ष माथिका उमेर समूहका व्यक्तिहरुलाई सोमबारदेखि खोप लगाउन  थालिएको हो ।प्रदेश १ का लागि सरकारले १ लाख ६९ हजार डोज भेरोसेल र ४८ हजार भायल (२ लाख ४० हजार डोज) जोन्सन एण्ड जोन्सनको खोप उपलब्ध गराएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश सरकारलाई प्राप्त भएको सबै खोप शनिबारदेखि नै जिल्लाहरुमा वितरण गर्ने कार्य थालिएकोले सोमबारदेखि प्रदेशका धेरै जिल्लाले खोप लगाउने कार्य आरम्भ गरेको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबार प्राप्त भएको खोप जिल्लाहरुमा वितरण थालिएको र सोमबारसम्म सबै जिल्लाका लागि खोप वितरण भइसक्ने आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिए । उनका अनुसार आइतबारसम्म मोरङ, सुनसरी, उदयपुर, झापा, इलाम र पाँचथरका जिल्लाहरुलाई भेरोसेल खोप पठाइसकिएकोे छ ।सोमबारसम्म सबै जिल्लामा खोप पठाइसकिने मन्त्रालयले जनाएको छ ।

सोमबर देखि विराटनगरको दुई वटा खोप केन्द्रबाट खोप लगाउन थालेको विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखाका संयोजक रमेश कार्कीले जानकारी दिएका छन् ।कार्कीका अनुसार विराटनगरको वीरेन्द्र सभागृह र कोशी अस्पतालमा भेरोसेल खोप लगाउने कार्य सुरु भएको छ ।

महानगरपालिकाले तीन वटा केन्द्र निर्धारण गरेको भएपनि जिल्ला प्रशासन कार्यालय मोरङले परिवार नियोजन संघमा राखिएको खोप केन्द्र तत्काल सञ्चालन नगर्न भन्दै रोकिदिएको छ । तत्काल दुई वटा केन्द्रबाटै खोप लगाउने कार्य भएको र केही दिनपछि वडाहरुमै गएर खोप लगाइने कार्कीले बताए ।