विराटनगर- मोरङमा ट्राफिक प्रहरीले सवारी साधनको नम्बर सडकमै लेखाउने अभियान सुरु गरिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए । ट्राफिकले स्पष्ट बुझिने नम्बर नराखिएका र अनटेष्ट सवारी साधनलाई सडकमै रोकेर नम्बर लेखाउन थालेको उनको भनाई छ ।

अधिक सवारी साधनमा नम्बर नराखिने, राखिएकाको पनि स्पष्ट नबुझिने समस्या रहेपछि कारबाही तीव्र पारिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक खड्काको भनाई छ । उहाँका अनुसार पछिल्लो समय दुर्घटना गराएर त्यस्ता सवारी साधन फरार बन्ने र खोजी गर्दा पनि फेला पार्न मुस्किल पर्ने समस्या बढ्दो छ । नम्बर अस्पष्ट रहेका सवारी साधनले दुर्घटना गराएर फरार हुँदा पहिचान गर्न मुस्किल पर्ने र दुर्घटनाबाट पीडित बनेको पक्ष भने न्यायबाट बञ्चित भइरहेको खड्काले जानकारी दिए ।

नम्बर प्लेट चुस्तदुरुस्त नराख्ने सवारी साधनलाई सडकमै रोकेर तत्कालै नयाँ लेख्न लगाउने विकल्प उपयुक्त भएको खड्काको भनाई छ । उनका अनुसार सवारी चेकजाँचमा खटिने ट्राफिक प्रहरीको टोलीले नम्बर लेख्ने पेन्टरलाई पनि साथमै लैजाने र नम्बर प्लेट स्पष्ट नभएका साधनमा लेख्न लगाउने गरेको हो । नयाँ नम्बर लेखाउने व्यवस्था गरेको पैसा सवारी चालक स्वयंले तिर्नुपर्छ । खड्काका अनुसार निजी, सार्वजनिक र सरकारी सबै सवारी साधनले नम्बर प्लेट चुस्त नराख्ने गरेको पाइन्छ ।

मोटरसाइकल, स्कुटर, ट्याक्टर, सिटी सफारी, ट्रकसमेतका साधनमा त्यस्तो समस्या रहेको जानकारी खड्काले दिए । मोरङमा गत शनिबारयता नम्बर स्पष्ट नभएका दुई सयभन्दा बढी सवारी साधनलाई ‘होल्ड’ गरेर नयाँ नम्बर लेख्न लगाइएको उनले बताए ।