विराटनगर- विराटनगर महानगरपालिका–१६ दरैयामा आइतबार बिहान एक युवा मृत फेला परेका छन् । मृतकको पहिचान खुल्न बाँकी छ । नेपाल–भारत सीमा क्षेत्रनजिक उखुबारीमा आईतबार बिहान ११ बजेतिर अन्दाजी २५/३० वर्षीय युवाको शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए ।
उनका अनुसार कालो पेन्ट र सेतो रङ्गको सेन्डो गञ्जी लगाएका पुरुषको शव सीमा क्षेत्रको दशगजाबाट लगभग सय मिटरजति नेपालतिर फेला परेको हो । शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए । फरेन्सिक डाक्टरसहित घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउत नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेको छ ।
शव पोस्टमार्टमका लागि कोसी अस्पताल ल्याएर घटनाको अनुसन्धान थालिएको जानकारी एसपी जिसीले दिऐ । ‘नेपाल–भारत सीमाअन्तर्गत दशगजानजिक बेवारिसे अवस्थामा युवाको शव फेला परेको छ,’ उनले भने ‘मृत्युको कारण खुल्न सकेको छैन ।’ मृतकको शरीरको बाहिरी भागमा कुनै चोटपटक नरहेको प्रहरीले जनाएको छ । जिसीले पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेपछि घटनाका बारेमा थप कुरा खुल्ने जानकारी दिए ।

