विराटनगर  - अपहरण तथा शरीर बन्धकको आरोपमा सुनसरीको इटहरीबाट तीन जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–७ का २५ वर्षीय सङ्गीत थापा, १९ वर्षीय अनिष कार्की र इटहरी–८ का २३ वर्षीय शिद्धार्थ राईलाई प्रहरीले पक्राउ गरेको हो ।

इटहरी–४ का २२ वर्षीय निर्मल श्रेष्ठलाई अपहरण गरेर बन्धक बनाउँदै निर्घात कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको छ । सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार अपहरणपछि इटहरी–८ फुलबारी टोलमा पुर्याएर आँखामा पट्टी बाँध्दै श्रेष्ठमाथि कुटपिट गर्दै गरेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको हो । तीन जनाले गत बिहीबार दिउँसो १ बजेतिर इटहरी–९ बाट श्रेष्ठलाई नियन्त्रणमा लिएर अपहरण गर्दै नम्बर थाहा नभएको सिटी सफारीमा राखेर लगेको प्रहरीको भनाइ छ ।

रातभर सङ्गीत थापाको कोठामा बन्धक बनाएर राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपीको थापाको भनाइ छ । उहाँका अनुसार शुक्रबार बिहान थापाको कोठाबाट हिँडाउँदै केही पर लगेर कुटपिट गरेको पाइएको छ । अपहरणपछि कुटपिट गरिएको भनिएका श्रेष्ठलाई प्रहरीले उद्धार गरेको छ ।

घटनाको कारण खुल्न बाँकी रहेको बताइएको छ । पक्राउ परेका तीनै जनाविरुद्ध परेको अपहरण तथा शरीर बन्धक सम्बन्धी जाहेरीका आधारमा अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको एसपी थापाले बताए ।