विराटनगर- प्रदेश १ मा आर्थिक वर्ष २०७७/०७८ मा सामान्य पारिवारिक विवाद जघन्य अपराधमा परिणत हुँदा महिलाको हत्या धेरै भएको पुष्टि नेपाल प्रहरीको तथ्यांकले गरेको छ । आन्तरिक पारिवारिक विवादले हत्याजस्तो जघन्य अपराधको रूप लिँदा घरपरिवारका सदस्यबाट मारिनेमा महिलाको संख्या धेरै रहेको हो । एक वर्षको अवधिमा पारिवारिक हत्याका ५५ वटा घटना भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए ।

५५ घटनामा ५६ जनाको हत्या भएको छ । मारिनेमा ४६ जना महिला मात्रै रहेको जानकारी राईले दिए । ‘सुषुप्त रूपमा रहेका पारिवारिक विवाद र कलह विग्रहमा परिणत हुँदा रिस र आवेगमा परिवारभित्रै हत्याजस्ता डरलाग्दा घटना एवं जघन्य अपराध बढ्न थालेका छन्,’ प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीले भने । उनका अनुसार १४ जिल्ला रहेको प्रदेश १ को सोलुखुम्बुमा मात्रै वर्षदिनभरि पारिवारिक हत्या भएको छैन । झापामा १२, सुनसरीमा ११, मोरङ र ताप्लेजुङमा पाँच÷पाँच, इलाम र उदयपुरमा चार/चार, खोटाङमा तीन, ओखलढुंगा, तेह्रथुममा, धनकुटा, पाँचथर र संखुवासभामा दुई/दुई तथा भोजपुरमा एउटा परिवारिक हत्याका घटना भएका छन् ।

पारिवारिक हत्यामा झापामा ११, सुनसरीमा १०, ताप्लेजुङमा पाँच, मोरङ र इलाममा चार÷चार, उदयपुर, खोटाङ, पाँचथर र धनकुटामा दुई÷दुई, ओखलढुंगा, संखुवासभा, तेह्रथुम र भोजपुरमा एक÷एक जना महिला मारिएको प्रहरीको तथ्यांक छ । अधिकांश महिलाको हत्यामा पतिको संलग्नता देखिएको छ । बीसीले पारिवारिक विवादले निम्त्याएका विभिन्न हत्यामा ८२ प्रतिशतभन्दा बढी महिलाको ज्यान गएको जानकारी दिए  । उनका अनुसार पछिल्लो तथ्यांकले आफ्नै घरपरिवारभित्र महिला निक्कै असुरक्षित भइरहेको डरलाग्दो परिदृष्यलाई उजागर गरेको छ ।

परिवारभित्रको थिचोमिचो एवं अत्याचारलाई लुकाएर राख्ने, शारीरिक तथा मानसिक यातना र पीडा सहने, दबाउन खोज्ने परिवारका सदस्यविरुद्ध खुल्न नसक्ने, अन्यायमा परे पनि कानुनी लँडाईमा नजाने तथा समाजमा परिवारको इज्जत र प्रतिष्ठा जोगाउन खोज्ने स्वभावले हत्याजस्तो जघन्य अपराधमा धेरै महिलाले ज्यान गुमाउनु परिरहेको बीसीको विश्लेषण छ ।

उनका अनुसार बेरोजगारीपछि उत्पन्न पारिवारिक किचलो, मदिरा तथा लागुऔषधको बढ्दो सेवन, वैदेशिक रोजगारी, परिवारभित्र पैत्रिक धनसम्पत्तिको बाँडफाँट, मानसिक समस्या, प्रविधिको दुरुपयोग, पारिवारिक विचलन एवं बेमेल आदिले यस्ता घटना बढाएर लगेको छ । नियन्त्रणमा निक्कै चुनौतीपूर्ण मानिने परिवारभित्र हुने अपराधिक घटना न्यूनीकरणका लागि छुट्टै कार्ययोजना बनाउने र तत्काल कार्यान्वयनमा लैजाने योजना प्रहरीको रहेको बीसीले बताए ।