विराटनगर– विराटनगरमा दैनिक ३३ देखि ३५ डिग्री सम्म तापक्रम बढेको छ । तापक्रम बढेसँगै केही साता देखि विराटनगरमा अघोषित लोडसेडिङ हुँदा उपभोक्ता हैरान भएका छन् । एक घण्टामा दर्जन पटक बढी लाईन जाँदा अनलाईन कक्षाका विद्यार्थी बढी प्रभावित भएका छन् । विराटनगर र आसपासका क्षेत्रमा दैनिक १२ घण्टाभन्दा बढी विद्युत आपूर्ति बन्द हुने गरेको छ । तालिका बिना हुने लोडसेडिङको मार उपभोक्ताले खेपिरहे पनि विद्युत प्राधिकरणले दीर्घकालीन रूपमा समस्या समाधानका लागि चासो नदिएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र स्रोतका अनुसार असार ३१ गतेसम्म टंकीसिनवारी सव–स्टेशनमा ब्रेकर जडान र अन्य सुधारको काम भइरहेकाले विद्युत आपूर्तिमा समस्या थियो । त्यसपछि समस्या नहुनु पर्नेमा अहिले पनि विद्युत आपूर्तिमा सुधार आउन नसकेको हो । वितरण केन्द्रका प्रमुख मिथिलेशकुमार गोहिबारले धेरै खपत हुँदा विद्युत ‘ट्रिपिङ’ हुने र तार चँुडिने लगायतका समस्याले आपूर्ति असहज बनिरहेको दाबी गरे । बिजुली कति खेर जाने र कति बेला आउनेभन्ने यकिन नहुँदा विद्यार्थीको पढाई प्रभावित बनेको विराटनगरको बाल संसार स्कुल, विराटनगरका भाईस प्रिन्सीपल सुमन तामाङले बताए ।


विराटनगरमा दैनिक ८० मेघावाट ‘पिक डिमाण्ड’ विद्युतको वितरण प्रणालीका लागि संरचना अभाव हुँदा समस्या भएको  विराटनगर वितरण केन्द्रका सूचना अधिकारी भरत केसीले वताए । वितरण केन्द्रले चारवटा सव–स्टेशनबाट २५ ग्रिडमार्फत विद्युत आपूर्तिको व्यवस्थापन गर्दै आएको छ । त्यसका लागि आवश्यक पर्ने ट्रान्सफर्मरको संख्या बढाउन भने सकस पर्ने गरेको सूचना अधिकारी केसीको भनाई छ । ‘लोड सेन्टर’ पारेर राखिनु पर्ने ट्रान्सफर्मरका लागि विराटनगरवासीले ठाउँनै दिदैैनन्, केसीले भने ‘विराटनगर १६ मा विद्युत आपूर्ती प्रणाली नियमित बनाउन ट्रान्सफर्मर थप गर्न खोज्दा कसैले ठाउँ दिएनन् ।’


विराटनगर वितरण केन्द्र मातहत ७३ हजार ७५४ उपभोक्ता छन् । विभिन्न १४ प्रकारका उपभोक्तामध्ये एक हजार ४६९ औद्योगिक ग्राहक रहेका छन् । यसका लागि महानगरमा ट्रान्सफर्मरको संख्या ३०० बाट बृद्धि गरेर ४०० र त्यस बाहेक कटहरी, ग्रामथान, बुढीगंगामा १७० बाट बृद्धि गरेर २०० पुर्याउनु पर्ने आवश्यकता छ । तर, महानगर भन्दा वाहिरको सेवा क्षेत्रमा ट्रान्सफर्मर राख्न समस्या नभएपनि महानगरमा तत्काल थप गरिहाल्नुपर्ने २५ ट्रान्सफर्मरका लागि प्राधिकरणलाई सकस परिरहेको बताईएको छ ।