विराटनगर-विराटनगर भन्सार कार्यालयले आर्थिक बर्ष २०७६/२०७७ भन्दा ४३ दशमलव ९० प्रतिशत बढी राजश्व संकलन गरेको छ ।  २८ अर्ब ३६ करोड राजश्व आव २०७६/२०७७ मा संकलन भएकोमा गत आवमा १२ अर्ब ४६ करोड बढी अर्थात ४० अर्ब ८२ करोड राजश्व संकलन भएको छ ।  

जसमा पैठारी महसुल अन्तरगत १५ अर्ब ८१ करोड ३९ लाख संकलन भएको छ भने निकासी महशुल तर्फ १५ करोड ७९ लाख ७० हजार संकलन भएको छ । त्यस्तै मूल्य अभिबृद्धि कर १९ अर्ब ६६ करोड ५६ लाख ८३ हजार संकलन भएको छ । त्यस्तै २ अर्ब ३८ करोड ६७ लाख २५ हजार आयात तर्फ अन्तरशुल्क संकलन भएको छ । ९८ करोड ५१ लाख ८९ हजार रुपैया कृषि सुधार शुल्क भन्साले संकलन गरेको छ । 

त्यस्तै स्वास्थ्य सेवा कर ८० हजार ५२० रुपैयाँ आर्थिक बर्ष २०७७/२०७८मा संकलन भएको छ भने  सडक मर्मत तथा सडक निर्माण दस्तुर ८ करोड ४९ लाख ४० हजार संकलन भएको छ । त्यस्तै भन्सारको अन्य आय ४ करोड २१ लाख ९३ हजार भएको छ । त्यस्तै पूर्वाधार कर अन्तरगत ७६ करोड १६ लाख २० हजार संकलन गरिएको छ । 

विराटनगर भन्सारले ११ महिनामा ३७ अर्ब ९ करोड ५६ लाख ७७ हजार राजश्व संकलन गरेको थियो भने असार महिनामा ३ अर्ब ७२ करोड ३३ लाख ३५ हजार राजश्व संकलन गरेको थियो । कोरोनाको कारण लक्ष्य अनुसार राजश्व संकलन भने हुन सकेन । आर्थिक बर्ष २०७७/२०७८ मा विराटनगर भन्सार कार्यालयले ४६ अर्ब १४ करोड राजश्व उठाउने लक्ष्य लिएपनि ८८ दशमलव ५० प्रतिशत अर्थात ४० अर्ब ८२ करोड मात्र राजश्व संकलन गर्न सकेको छ । 

कोरोनाको प्रभावका कारण भारत र नेपाल दुबै तर्फ भएको लकडाउनको कारण उद्योगहरुले कच्चा पदार्थ आयात नगर्नु र तयारी बस्तुको निकासीमा आएको कमिका कारण भन्सारले लक्ष्य अनुरुप राजश्व संकलन गर्न नसकेको भन्सार प्रमुख शिव भण्डारीले बताए । तर गत आवको भन्दा राजश्व संकलनमा भने सुधार भएको उनले जानकारी दिए । भण्डारीले अघिल्लो आर्थिक बर्ष भन्दा गत आवमा १२ अर्ब ४६ करोड बढी अर्थात ४० अर्ब ८२ करोड राजश्व संकलन भएको तथ्यांक प्रस्तुत गरे । 

कोरोनाको कारण कतिबेला उद्योग बन्दहुन्छन, व्यापार व्यवसाय बन्द हुन्छ भन्ने अनिश्चित भएको अवस्थामा उद्योगीले पनि कच्चा पदार्थमा मात्रै लगानी नगरेको अवस्था र व्यापार व्यवसायीले पनि स्टक रहेकै सामान बिक्री गर्ने तर नयाँ आयात नगरेपछि भन्सारको राजश्व प्रभावित भएको भण्डारीले बताए ।