विराटनगर– बाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर आर्थिक वर्ष २०७७–०७८ मा बजार अनुगमनबाट १९ लाख रुपैयाँ बढी जरिवाना असुल गरेको छ । गत आर्थिक वर्षमा ५२ वटा फर्म अनुगमनबाट १९ लाख ५ हजार जरिवाना असुल गरिएको कार्यालयका प्रमुख सन्तोष पोखरेलले बताए । उपभोग्य अवधि सकिएका तथा अंकित मूल्य भन्दा बढी लिएर विक्री वितरण गर्ने फर्महरु कारवाहीमा परेको उनले बताए ।

पोखरेलका अनुसार ६ वटा उद्योग, फर्म र पसलको अनुगमनबाट मात्रै १३ लाख जरिवाना गरिएको छ । जैसानी टे«ड कन्र्सनलाई ३ लाख, विके मसला, सेन्ट्रल बजार, अंश लघु घरेलु उद्योग, विज्ञान फार्मेसी र विविता सर्जिकल हाउसलाई २–२ लाख जरिवान गरिएको छ ।  बाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालयले २०७७–०७८ मा १ करोड ४१ लख ७० हजार ९१५ राजश्व संकलन गरेको छ । १ हजार ८३९ वटा फर्म दर्ताबाट ३२ लाख ५८ हजार ४ सय, फर्मको नविकरण तथा संशोधनबाट ८९ लाख ९७ हजार ७८०, फर्म खारेजीबाट १९ लाख १४ हजार ७३५ राजश्व संकलन भएको कार्यालय प्रमुख पोखरेलले बताए । बाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले फर्म दर्ता, नविकरण र दर्ता खारेज गर्ने नियमावलीमा शंसोधन गरेर लाग्दै आएको दस्तुर घटाएकाले आर्थिक बर्ष २०७६–०७७ को तुलनामा कम राजश्व संकलन भएको बताए ।
प्रदेश १ का १४ वटै जिल्लाको अनुगमन गर्ने कार्यक्षेत्र भएपनि यसअघि बाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालयले अनुगमन मोरङलाई मात्रै केन्द्रीत गर्ने गरेको थियो । गत आर्थिक वर्षमा मोरङ बाहेक ६ वटा जिल्लामा अनुगमन गरिएको कार्यालय प्रमुख पोखरेलले बताए । उनका अनुसार सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर र उदयपुरमा गरि २०२ फर्मको अनुगमन गरिएको छ । जनशक्ति अभावमा १४ वटै जिल्लामा पुग्न नसकीएको उनले बताए । उनले भने,‘ स्थानीय तहसँगको समन्वयमा अनुगमनलाई बढाईदै लगिने छ ।’ कार्यालय प्रमुख पोखरेलले बजार अनुगमन नियमित हुने गरेको बताए ।