विराटनगर- विराटनगरमा स्टेण्ड लगाएर रोकिराखेको मोटरसाइकलमाथि गय राति एक जना वृद्ध पुरुषको शव भेटिएको छ । कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–५ स्थित नेपाल विद्युत प्राधिकरणअगाडि सडकको पश्चिमतर्फ रोकेर राखिएजस्तो देखिने को ४ प २३१६ नम्बरको मोटरसाइकलमाथि पुरुषलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार मृतक विराटनगर–५ मुनालपथका ६७ वर्षीय सुदर्शन शर्मा न्यौपाने रहेको खुलेको छ । मोटरसाइकलको ट्यांकीमाथि टाउको अड्याएर सुतेजस्तो देखिएको अवस्थामा न्यौपानेलाई राति ८ः३० बजेतिर मृत फेला पारिएको उनको भनाइ छ । ‘घटनास्थलको अवस्था हेर्दा स्टेण्ड लगाएको मोटरसाइकलमाथि सुतेर आराम गरेजस्तो देखिन्थ्यो,’ जिसीले भने , ‘स्वास्थ्यमा कुनै समस्या आएर आराम गर्ने क्रममा मोटरसाइकलमाथि नै मृत्यु भएको हुनसक्छ ।’
जिसीका अनुसार मोटरसाइकल न्यौपानेकै भएको खुलेको छ । शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको र पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाको वास्तविकता बाहिर आउने प्रहरीको भनाइ छ । मृत्युको कारण प्रष्ट हुन बाँकी रहेको जिसीले बताउनु भयो । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।

