विराटनगर-  विराटनगर महानगरपालिकाका २२ हजार बढी विपन्न महिला तथा बालबालिकालाई पौष्टिक आहार खुवाउने अभियानको शुरुवात गरिएको छ ।विराटनगर महानगर क्षेत्रका विपन्न २२ हजार ५ सय जनालाई ९० दिन सम्म खाना खुवाईने कार्यक्रम आईतबारदेखि विराटनगरमा शुरु भएको छ ।

दैनिक २५० जनाका दरले ९० दिन सम्म खाना खुवाईने लक्ष्य रहेको नारी विकास संघ विराटनगरकी कार्यक्रम संयोजक सरिता अधिकारीले जानकारी दिईन । लैंगिक समानता र महिला शशक्तिकरणका लागि संयुक्त राष्ट्रसंघ इकाई ( युएन वुमन) र माईती नेपालसँगको सहकार्यमा खाना खुवाउने कार्यक्रम शुरुवात गरिएको अधिकारीले बताईन ।

महिला र बालबालिकालाई लक्षित गरेर कार्यक्रम अघि बढाईएको उनको भनाई छ । उनले भनिन,‘ विपन्न समुदायको लगत संकलन गरेर पौष्टिक खाना वितरण शुरु गरिएको छ ।’माईती नेपालले आईतबार देखि देशव्यापी अभियान शुरु गरेको माईती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले बताए । उनले काठमाण्डौं, विराटनगर र धनगढीमा विपन्नलाई ९० दिन सम्म पौष्टिक खाना खुवाउने कार्यक्रम शुरु गरिएको बताए । ९० दिनको कार्यक्रम पछि गर्भवती र सुत्केरीलाई लक्षित गरेर काम गरिने उनँको भनाई छ ।

विराटनगर महानगरपालिका अन्र्तगत १९ नम्वर वडामा धेरै सुकुम्वासी बस्ती रहेको छ । सो वडाका ७५० घर सुकुम्वासी वस्तीमा रहेको वडाध्यक्ष बद्रीनारायण सरदारले बताए । कोरोनाका कारण दैनिक काम गरेर खाने वर्गलाई समस्या परेको उनँले बताए । गतवर्ष महानगरले राहत वितरण गरेपनि यसवर्ष वितरण गर्न नसकिएको वडाध्यक्ष सरदारको भनाई छ  । उनले भने,‘ विभिन्न सामाजिक संस्थाहरुलाई राहत वितरणको कार्यक्रम आफ्नो वडामा राख्नको लागि भने पहल गरेको छु ।’खाना खुवाउने कार्यक्रममा विराटनगर –१९ वडाध्यक्ष सरदार, नारी विकास संघकी अध्यक्ष सीता शर्मा, एविसी नेपालकी अध्यक्ष विष्णु शर्मा पन्त लगायतको सहभागिता रहेको थियो ।