विराटनगर-  मोरङका करदाताले कर बुझाउन  संकटको समयमा समेत उत्साहजनक सहभागीता देखाएका छन् । आन्तरिक राजश्व कार्यालय विराटनगरले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/२०७८ मा २८ प्रतिशतले कर असुली बृद्धि गरेको कार्यलयले जानकारी दिएको छ ।

गत आवका लागि ८ अर्ब ८४ करोड ४६ लाख २२ हजार लक्ष्य तोकिएकोमा ८ अर्ब ९३ करोड ३७ लाख ७६ हजार अर्थात समग्रमा १०१ प्रतिशत असुली भएको हो । कोरोना संक्रमणको सन्त्रासका कारण गत वर्षपनि अघिल्लो वर्ष झैं अन्तः शुल्क भने प्रभावित देखिएको छ । अन्तःशुल्कतर्फ ६४ प्रतिशत अर्थात ४ अर्ब ५१ करोड ३७ लाख ४ हजारको लक्ष्यमा २ अर्ब ८७ करोड २८ लाख ५० हजार रुपिँया मात्रै संकलन भएको छ ।

कार्यालयका प्रमुख कर अधिकृत बिमल सापकोटाले अन्तः शुल्कतर्फ न्यून असुली भएपनि आयकरतर्फ २ अर्ब ७१ करोड १२ लाख ३० हजारको लक्ष्यमा ३ अर्ब ५२ करोढ १९ लाख १४ हजार र मूल्य अभिबृद्धितर्फ १ अर्ब ६१ करोड ९६ लाख ८८ हजारको लक्ष्यमा २ अर्ब ५३ करोड ९० लाख १२ हजार रुपिँया असुली भएको जानकारी दिए। आयकरतर्फ १३० प्रतिशत र भ्याटतर्फ १५७ प्रतिशत असुली भएको बताईएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६÷२०७७ मा लक्ष्यको ६९ प्रतिशत मात्रै असुली भएको थियो । अघिल्लो आर्थिक वर्षका लागि १० अर्ब १२ करोड ५९ लाख २ हजार लक्ष्य निर्धारण गरिएकोमा ६ अर्ब ९५ करोड ७९ लाख ७४ हजार मात्रै असुली भएको थियो ।कोरोना संक्रमणका कारण लगाईएको लकडाउनमा पनि करदाताको उल्लेखिय सहभागीता रहेको पाईएको छ ।