विराटनगर-  प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७।०७८ मा ६४.७६ बजेट खर्च गरेको छ । प्रदेश सरकारले गत वर्षका लागि ४३ अर्ब ४० करोड, ८५ लाख  ५० हजार रूपैयाँ बजेट विनियोजन गरेको थियो । कूल बजेट मध्ये २८ अर्ब ११ करोड ३३ लाख ३७ हजार खर्च भएको छ । खर्च कूल बजेटको ६४.७६ प्रतिशत हो । प्रदेश १ कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार गत आर्थिक वर्षमा ६१.७१ प्रतिशत विकास (पूँजीगत) बजेट खर्च भएको छ ।

पूँजीगत तर्फ २७ अर्ब ७६ करोड १७ लाख ३१ हजार बजेट विनियोजन भएको थियो । जसमध्ये १५ अर्ब ८९ करोड ८४ लाख २४ हजार दुई सय २० रुपैयाँ खर्च भएको हो । चालु खर्चतर्फ १७ अर्ब ६० करोड ६८ लाख १९ हजार बजेट विनियोजन भएको थियो । जसमध्ये १२ अर्ब २१ करोड ४९ लाख १३ हजार खर्च भएको छ । विनियोजित बजेट मध्ये ६९.३८ प्रतिशत हो । कार्यालयका अनुसार पूँजीगततर्फ सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयमा थियो । २१ अर्ब ८६ करोड ९६ लाख ११ हजार बजेट विनियोजन भएको थियो ।

जसमध्ये १४ अर्ब  ५१ करोड ९३ लाख ५० हजार नौ  सय ९० रुपैयाँ खर्च भएको छ । सामाजिक विकास मन्त्रालयले पाँच अर्ब ६० करोड आठ लाख २७ हजार बजेटमध्ये तीन अर्ब २५ करोड १५ लाख ४३ हजार खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले छ अर्ब २४ करोड ३३ लाख २२ हजार बजेटमध्ये पाँच अर्ब ९३ करोड ६९ लाख ३९ हजार रूपैयाँ खर्च गरेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रायलले विनियोजन भएको तीन अर्ब ५९ करोड ६९ लाख ६६ हजार बजेट मध्ये एक अर्ब ५७ करोड १२ लाख ७७ हजार खर्च गरेको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले तीन अर्ब ७९ करोड ९८ लाख ८५ हजार बजेट मध्ये एक अर्ब ८१ करोड ७० लाख सात हजार दुई सय आठ रुपैयाँ खर्च गरेको छ । ९५ करोड ८० लाख ७६ हजार बजेटमध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ४० करोड ६० लाख ७७ हजार खर्च भएको छ । आन्तरिक मामिला तथा योजना मन्त्रालयले ९८ करोड ८० लाख ८९ हजार बजेटमध्ये ३३ करोड ८६ लाख ६४ हजार एक सय ५१ रुपैयाँ खर्च गरेको छ ।