विराटनगर-  विराटनगर महानगरपालिका–९ स्थित बसपार्कनजिक रहेको एउटा चिया पसलभित्र आज दिउँसो एक जना महिलालाई मृत फेला पारिएको छ । विराटनगर–१० घर भएकी ४० वर्षीया सीता राजवंशीलाई आफ्नै चिया पसलभित्र मृत फेला पारिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए।

उनका अनुसार दिउँसो १२ बजेतिर पसलभित्र भुइँमा घोप्टो परेको अवस्थामा मृत भेटिएपछि घटनास्थलबाट आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको छ । प्रहरीका अनुसार राजवंशीको पसल बिहान भने खुला थियो । ‘भित्रबाटै ढोकोको चुक्कुल लगाएको चिया पसलको भुइँमा घोप्टो परेर लडिरहेको अवस्थामा शव भेटिएको हो,’ जिसील ेभने ‘शव पोस्टमार्टमका लागि अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको छ ।’

प्रहरीका अनुसार महिला मृत भेटिएको पसलभित्रको बाँसको बलोमा सल पनि झुण्डिएको अवस्थामा भेटिएको छ । ‘मृत्युको कारण यकिन भइसकेको छैन । सलको पासो लगाएर आत्महत्या गरेको पनि हुनसक्छ,’ प्रहरी स्रोतले भन्यो, ‘झुण्डिएपछि सलबाट खुस्किएर शव भुइँमा खसेको हुनसक्ने देखिन्छ । तर अनुसन्धान जारी रहेका कारण घटनाका बारेमा यकिन भइसकेको छैन ।’