विराटनगर-   प्रदेश १ मा पछिल्लो समय पारिवारिक विवादमा हत्याजस्तो जघन्य अपराधसँग जोडिएका घटना धेरै हुन थालेका छन् । सामान्य पारिवारिक विवादमै परिवारका सदस्यको हत्या हुने क्रम बढेर गएको डरलाग्दो तथ्यांक प्रहरीसँग छ । प्रदेश १ मा आर्थिक वर्ष २०७७/०७८ मा परिवारभित्र मात्रै ५३ जनाको हत्या भएको छ । पारिवारिक हत्याका ५२ वटा घटनामा ५३ जनाले ज्यान गुमाउनु परेको हो ।

प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बिसीका अनुसार मार्ने र मारिने एउटै परिवारभित्रका बाबु, आमा, छोरा, छोरी, दाजु, भाइ, दिदी, बहिनी, श्रीमान, श्रीमती छन् । प्रदेशका १४ मध्ये १३ वटा जिल्लामा यस्ता घटना धेरै भएको उनले बताए । वर्ष दिनभित्र सोलुखुम्बुमा मात्रै पारिवारिक विवादपछिको हत्या भएको देखिँदैन । प्रहरीका अनुसार सुनसरीमा ११, झापामा १०, मोरङमा पाँच, इलाम, उदयपुर र ताप्लेजुङमा चार÷चार, तेह्रथुममा तीन, धनकुटा, पाँचथर, संखुवासभा, खोटाङ र ओखलढुंगामा दुई/दुई तथा भोजपुरमा एउटा परिवारिक हत्याका घटना भएका छन् ।

यस्ता घटनाले परिवारभित्रै असुरक्षित महसुस गराएको र सबैलाई चिन्तित तुल्याएको बिसीको भनाइ छ । प्रहरीको अनुसन्धानबाट बेरोजगारीपछि उत्पन्न पारिवारिक किचलो, मदिरा तथा लागुऔषधको बढ्दो सेवन, वैदेशिक रोजगारी, परिवारभित्र पैत्रिक धनसम्पत्तिको बाँडफाँट, मानसिक समस्या, प्रविधिको बढ्दो प्रयोग, पारिवारिक विचलन एवं बेमेल आदिले यस्ता घटना हुने गरेको देखाएको छ । डीआईजी बिसीका अनुसार सुषुप्त रूपमा रहेका कलह विग्रहमा परिणत हुँदा रिस र आवेगमा जघन्य अपराधका घटना हुने गरेको पाइएको छ ।

परिवारभित्रको हत्या लगायतका जघन्य अपराध रोकथाम र न्यूनीकरणका लागि विभिन्न निकायसँग समन्वय गरेर विशेष हिसाबले जनचेतनामूलक कार्यक्रम सञ्चालनको तयारी प्रहरीबाट भइरहेको उनले बताए । बिसीका अनुसार रोजगारी, स्वास्थ्य, शिक्षा र पारिवारिक संरचनामा ध्यान नदिँदा परिवारभित्रै आपराधिक मानसिकताको विकास भएपछि अपराधले डरलाग्दो रूप लिइरहेको छ ।

जघन्य प्रकृतिका पारिवारिक अपराधबाट प्रहरीका अधिकारी, अनुसन्धानमा खटिने प्रहरी अधिकृतदेखि मनोविद् र सामाजसास्त्री पनि चिन्तित बनेका छन् । यस्ता अपराध नियन्त्रण र न्यूनीकरणका लागि खोज एवं अनुसन्धानको आवश्यकता रहेको उनीहरुको भनाइ छ ।