विराटनगर- विराटनगरबाट हतियार र लागुऔषधसहित सशस्त्र प्रहरीले एक जना भारतीय नागरिकलाई गय राति पक्राउ गरेको छ । भारतको जोगवनीबाट हतियार र लागुऔषध लिएर आउँदै गर्दा जोगवनी नगरपञ्चायत–९ इन्द्रनगरका ४१ वर्षीय पप्पुकुमार पटेललाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल मोरङका डीएसपी गोपीकृष्ण ठाकुरले जानकारी दिए ।
उनका अनुसार पटेलको साथबाट एउटा कटुवा पेस्तोल, लागुऔषध एभिल दुई सय ९२ र लुपिजेसिक दुई सय ९५ एम्पुल तथा एउटा चक्कु र दुईवटा मोबाइल बरामद गरिएको छ । हतियार र लागुऔषध प्लाष्टिकको झोलाभित्र राखेर लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा पटेललाई विराटनगर महानगरपालिका–१६ स्थित भत्केको वालनजिकबाट पटेललाई राति १०ः२८ बजेतिर पक्राउ गरिएको ठाकुरले बताए ।
उनका अनुसार शंकास्पद रूपमा पैदल नै नेपाल प्रवेश गरेका पटेललाई नियन्त्रणमा लिएर खानतलासी गर्दा साथबाट हतियार र लागुऔषध फेला परेको हो । सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि उनलाई इलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ । प्रहरीले उनीविरुद्ध लागुऔषध र हातहतियार खरखजना ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ ।
पटेल हतियार र लागुऔषधका कारोबारी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनी भारतको जोगवनीमा बसेर नेपाल केन्द्रित कारोबार सञ्चालन गरिरहेका थिए ।

