विराटनगर-  नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षका प्रभावशाली नेता राजेन्द्र राई एमाले एकता कार्यदलले पार्टी एकताका लागि गरेको सहमतिप्रति असन्तुष्टि व्यक्त गरेका छन । प्रदेश १ को प्रदेशसभा सदस्यसमेत रहेका राईले एमाले एकताका लागि १० बुँदे सहमति भएको भोलिपल्ट सोमबार बिहान फेसबुकमा स्टाटस लेख्दै असन्तुष्टि पोखेकाहुन ।

नेपाल पक्षबाट कार्यदलमा रहेका केही नेताहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीको समूहमा प्रवेश गर्ने अन्तिम तयारीमा रहेको टिप्पणी उनको छ । उनले फेसबुक स्टाटसमा लेख्दै भनेकाछन, ‘विद्रोहको आह्वान गरेर देशभरि कार्यकर्तालाई लडाएर, भिडाएर, विभिन्न कार्यकर्ताको राजनीति समाप्त हुने गरी कारबाही खुवाएर अन्ततः केही साथीहरु वार्ता र सहमतिको नाममा केपी गुटमा प्रवेश गर्ने अन्तिम तयारीमा पुगेछन्, शुभकामना छ ।’

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले स्वेच्छाचारी ढङ्गले काम गरेर मुलुक, जनता र पार्टीलाई गम्भीर अवस्थामा पुर्याएको तथा संविधानको व्यवस्था समाप्त पार्न खोजेको लगायतका कुराहरूलाई अहिले र भविष्यका दिनमा कसरी नियन्त्रण गर्न सकिन्छभन्ने स्पष्ट बन्दोवस्ती हुनुपर्ने माग पनि राईले राखेकाछन । त्यस्तै विशुद्ध रूपमा २०७५ साल जेठ २ गतेको अवस्थामा रहेको पार्टीको साङ्गठनिक संरचनालाई ब्युँताउनुपर्ने माग पनि उनको छ ।

कार्यदलले गरेको सहमति एवं सम्झौतामा पार्टीको पुरानो संरचना र ओलीको कदमलाई आगामी दिनमा कसरी नियन्त्रण गर्नेभन्ने कुराको सम्बोधन नभएको राईको गुनासो छ । ‘बरु फागुन २८ गतेको केपी गुटको निर्णयलाई सबै मिलेर थोरै प्रक्रिया पुर्याएजस्तो गरेर कार्यान्वयन गर्न खोजिएको छ,’ उहाँले फेसबुकमा लखेका  छन ।