विराटनगर- सडकमा गुडिरहेको यात्रुबहाक बसबाट हामफाल्दा मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा आइृतबार साँझ एक यात्रुको मृत्यु भएको छ । प्रहरीका अनुसार हामफालेर को १ ख ७८२९ नम्बरको बसबाट ओर्लने क्रममा ओखलढुङ्गा घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका २७ वर्षीय दीपेन कट्टेलको मृत्यु भएको हो ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डीएसपी सुमनकुमार तिमल्सिनाका अनुसार आफूले यात्रा गरिरहेको बसबाट हामफालेर ओर्लन खोज्दा आइृतबार साँझ ६ः१० बजेतिर लडेर कट्टेल गम्भीर घाइते भएको पाइएको छ । कट्टेल पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसका यात्रु रहेको खुलेको छ ।
नरोकिएकै अवस्थामा सडकमा गुडिरहेको बसबाट हामफालेर ओर्लन खोज्दा घाइते भएका कट्टेलको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा आईतबार साँझ ७ः४० बजेतिर मृत्यु भएको डीएसपी तिमल्सिनाले बताए । बस र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका–९ का ३० वर्षीय दीपक रेग्मीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

