विराटनगर- मोरङको धनपालथानमा सशस्त्र प्रहरीको नक्कली घुमुवा बनेर एक युवाले तस्करीको लाइन चलाउने प्रयास गरेको खुलेको छ । आफू सशस्त्र प्रहरीको घुमुवा रहेको बताउँदै तस्करीको लाइन चलाउन सहयोग गरिदिने भनेर नेपाल–भारत सीमा क्षेत्रका बासिन्दालाई धाकधम्की दिएर पैसा असुल्न खोज्दै गर्दा ती युवालाई प्रहरीले आईतबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रंगेली नगरपालिका–२ का २० वर्षीय मनिष राय रहेका छन् । सशस्त्रका नक्कली घुमुवा बनेर तस्करीको लाइन चलाउन सहयोग गर्छुभन्दै पैसा उठाउन खोजेको पाइएपछि धनपालथान गाउँपालिका–३ मायागञ्जबाट उनलाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । रायलाई सीमा प्रहरी चौकी मायागञ्जको टोलीले आईतबार साझ ७ बजेतिर पक्राउ गरेर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा बुझाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका रायले आफू सशस्त्र प्रहरीको घुमुवा भएकाले नेपालबाट भारत र भारतबाट नेपालतिर तस्करीको लाइन चलाउन सहयोग गर्ने बताउँदै आएका थिए । तस्करीको लाइन चलाएर सीमा वारिपारि सामान ल्याउन र लैजान सहयोग गर्ने भन्दै उनले केही महिला र स्थानीय बासिन्दालाई धम्की दिएर पैसा असुल्न खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तर अहिलेसम्म उनले कोहीकसैबाट पैसा लिइसकेको प्रमाण भने प्रहरीले फेला पारेको छ । यस विषयमा थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ । रायविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।