विराटनगर - सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले आईतबार आफ्नो दशौं स्थापना दिवसको अवसरमा मोरङ्गका ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
मोरङ्ग कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका राष्टिय समाचार समितिका मोहम्मद सदरुल, बिजमाण्डुका अनन्तराज न्यौपाने, मकालु टेलीभिजनका मीनकुमार श्रेष्ठ, न्युज २४ की तारा आर्चाय, एलिना दियाली र राजकुमारी तामाङ पुरस्कृत भएका हुन् । उनीहरुलाई राष्ट्रिय समाचार समितिकी पुर्व कर्मचारी मीना श्रेष्ठद्धारा स्थापित ‘मीना श्रेष्ठ परिश्रमी महिला पत्रकार पुरस्कार–२०७७’ ले पुरस्कृत गरिएको हो ।
आईतबार प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले उनीहरुलाई नगद र कदर पत्रसहित पुरस्कृत गरेका हुन । पत्रकारिता जगतको पेशागत मर्यादालाई कायम राख्दै समाज रुपान्तरणमा पुर्याएको योगदानको कदर गर्दै सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले मकालु र कारोबार दैनिकका मीनकुमार श्रेष्ठ र बिजमाण्डुका अनन्तराज न्यौपानेलाई ५०–५० हजार, राष्ट्रिय समाचार समितिका प्रदेश १ प्रमुख मोहम्मद सदरुल र न्युज २४ टेलिभिजनकी तारा आर्चायलाई २१–२१ हजार तथा रेडियो सिम्रिककी एलिना दियाली र निगरानी टाईम्सकी राजकुमारी तामाङलाई १०–१० हजार नगद पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का प्रदेश प्रमुख प्यासीले पत्रकारहरु आलोचना र दुःखका सारथी भएको बताए । उनले समाजलाई सिर्जनशील बनाउन पत्रकारहरुले उल्लेख्य भुमिका खेलेको जिकिर गरे । वि.सं. २०६९ सालमा मोरङका पत्रकारहरुद्धारा स्थापित सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले भने बार्षिक ५० लाखको कारोबार गर्दै आएको संस्थाका अध्यक्ष मोहन भण्डारीले बताए । हाल सञ्चारकर्मी सञ्चार सहकारी संस्थामा १ सय ५ जना सदस्यहरु रहेका छन् ।

