विराटनगर- विराटनगर महानगरपालिका–५ पृथ्वी चोकमा भाइले धारिलो हतियार प्रहार गरेर गय राति राष्ट्रिय अनुसन्धानका कर्मचारी रहेका आफ्नै दाजुको हत्या गरेका छन् । मादक पदार्थ सेवन (मापसे) गरेर ३१ वर्षीय काले भनिने साजन सिंहले पारिवारिक विवादमा दाजु ४२ वर्षीय भोला सिंहको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।
भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार (सूचक) रहेको खुलेको छ । हेटौँडाबाट तालिम सकेर विराटनगरस्थित घरमा आएर खोटाङ फर्कने तयारी गरिरहेका बेला भाइबाटै भोलाको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लागुऔषधको दुव्र्यसनमा फसिसकेका साजनले दाजुको हत्या गरेका बेला चैँ लागुऔषध सेवन गरेका थिए कि थिएनन् भन्ने खुल्न बाँकी छ ।
एसपी जिसीका अनुसार पारिवारिक विवादलाई लिएर राति १०ः३० बजेतिर साजनले दाजुमाथि धारिलो हतियार प्रहार गरेको पाइएको छ । गम्भीर घाइते अवस्थाका भोलालाई तत्काल प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पुर्याएको थियो । तर अस्पताल पुर्याउनसाथ राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । हतियार प्रहारबाट भोलाको घाँटीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चोट लागेको जिसीले बताए । एसपी जिसीका अनुसार मृतकलाई लागेको चोटका आधारमा घटनामा धारिलो हतियार प्रयोग भएको पुष्टि भए पनि साजनले भने सोकेसको सिसाले हानेको प्रहरीलाई बताएका छन् । हत्यामा प्रयोग गरिएको हतियार फेला परेको छैन । घटनास्थलमा सिसाका फुटेका टुक्राहरु छरिएका छन् । कुर्सीहरु फुटेका एवं भाँचिएका छन् । घटनास्थल वरपर धेरै रगत लतपतिएको छ । दाजुको हत्यामा संलग्न साजनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
पक्राउ गरेका बेला उनी रक्सीको नसामा लट्ठ थिए । दाजुसँगको झगडामा सामान्य घाइते भएका उनलाई पनि उपचारका लागि नर्सिङ होममै भर्ना गरिएको थियो । उनी आफै घाइते अवस्थामा रहेकाले घटनाका बारेमा धेरै कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लागुऔषधको दुव्र्यसनमा फसेका उनले विगतमा पनि लागुऔषध र मादक पदार्थको नसामा विभिन्न अपराधिक घटना गराएको र प्रहरीले पटक–पटक कारबाही गरिसकेको । भोलाका १६ वर्ष मुनिका दुई छोरा र श्रीमती छन् ।
भोलाको हत्या गर्ने साजनको भने गत वैशाखमा श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको पाइएको छ । मादक पदार्थ र लागुऔषध सेवन गरेर सधैँ घरमा झैझगडा तथा कुटपिट गर्ने गरेपछि श्रीमतीले सँगै बस्न नमानेर सम्बन्ध विच्छेद गरेको स्थानीयको भनाइ छ । तर कानुनी रूपमा साजनसँग अलग भए पनि श्रीमती उनकै परिवारको संरक्षणमा थिइन् ।
प्रहरीका अनुसार श्रीमतीलाई परिवारका अन्य सदस्यले समर्थन गरेको भन्दै बारम्बार साजनले घरमा झगडा गरिरहेको पाइएको छ । त्यही विषयलाई लिएर विवाद गरिरहेको पाइएपछि साजनलाई सम्झाईबुझाई गर्न पुगेका दाजुकै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एसपी जिसीले घटनाको गम्भीर रूपले अनुसन्धान थालिएको जानकारी दिए । उनका अनुसार दाजुको हत्यामा संलग्न साजनविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी छ ।

